शल्यक्रियापछि हुने सङ्क्रमण सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान

शल्यक्रियापछि हुने सङ्क्रमण सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान

2026-11-27

काठमाडौं । मंसिर ११

त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागको आयोजनामा अनुसन्धान प्रसार कार्यशाला सम्पन्न भएको छ । माइक्रोबायोलोजी केन्द्रीय विभागको आयोजनामा सम्पन्न कार्यशालामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा मुख्य अन्वेषक प्रा.डा. अञ्जना सिंहको प्रस्तुति रहेको थियो । डा.सिंह मुख्य अन्वेषक रहेको अनुसन्धान "शल्यक्रियापछि हुने घाउको सङ्क्रमणमा जीवाणुजन्य कारकहरूको व्यापकता, विशेष गरी अक्सिजनरहित अवस्थामा हुने ब्याक्टेरियाको वृद्धि"मा केन्द्रित थियो ।

अनुसन्धानले परिमार्जित रोग प्रतिरोधात्मक औषधि प्रयोगले कल्चर परीक्षणबाट पुष्टि भएका शल्यक्रियाको सङ्क्रमणको दर घटाएको पाइएको उल्लेख गरेको छ । यस्तै, शल्यक्रिया स्थल सङ्क्रमणको प्रमुख कारणमा विशेष गरी ब्याक्टेरियासहितका अक्सिजनरहित वातावरणमा वृद्धि हुने ब्याक्टेरिया प्रमुख रूपमा देखिएको उल्लेख छ । अक्सिजनरहित वातावरणमा वृद्धि हुने ब्याक्टेरियामा उच्च स्तरको प्रतिजैविक औषधि प्रतिरोध देखिएको पनि अनुसन्धान रिर्पोटमा जनाइएको छ । Bacteroides fragilis मा प्रतिजैविक औषधि प्रतिरोध निर्धारण गर्ने जीन फेला परेको तथा ती जीनका आनुवंशिक अनुक्रमहरू अन्य देशमा पाइएका जीनका अनुक्रमसँग मिल्दोजुल्दो रहेको समेत अनुसन्धानमा उल्लेख छ ।

नेपालमा शल्यक्रियापश्चात् शल्यक्रियास्थलको सङ्क्रमणका कारण बिरामीमा देखिने स्वास्थ्यसम्बन्धी जटिलता, अस्पतालमा लामो समयसम्म भर्ना हुनुपर्ने अवस्थाले स्वास्थ्य उपचारमा लाग्ने खर्च वृद्धि हुने गरेको पनि अनुसन्धानले देखाएको छ । नेपालमा अक्सिजनरहित वातावरणमा वृद्धि हुने रोगजनक ब्याक्टेरियाको नियमित निगरानी सीमित हुनु र यस्ता जीवाणु पहिचान हुन नसक्नुले उचित निदान तथा उपचार प्रक्रियामा समस्या सिर्जना गर्न सक्ने बताइएको छ ।

यसै सन्दर्भमा विराटनगरस्थित बिराट मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया स्थल सङ्क्रमणको जीवाणुजन्य स्वरूप तथा प्रतिजैविक औषधिप्रतिको संवेदनशीलता सम्बन्धमा यो अध्ययन गरिएको थियो ।

अध्ययनले नीतिगत रुपमा शल्यक्रिया सम्बन्धी सङ्क्रमणको नियमित राष्ट्रिय निगरानी प्रणाली स्थापना गर्न सिफारिस गरेको छ । यस्तै, नियमित एनारोबिक ब्याक्टेरियोलोजी सेवाहरु सुदृढ गर्ने तथा एनारोबिक ब्याक्टेरियाका लागि स्तरीकृत एन्टिमाइक्रोबियल प्रभावकारिता परीक्षण लागू गर्न पनि सिफारिस गरिएको छ । अध्ययनले एनोरोबिक एन्टिबायोग्राम तयार गर्न तथा शल्यक्रियापूर्व गरिने एनिटमाइक्रोबियल प्रोफाइल्याक्सिसको मापदण्ड बनाउन सिफारिस गरेको छ ।

अनुसन्धान सहयोगी संस्था त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका प्रमुख प्रा.डा. ईश्वर कोइरालाले यस्ता किसिमका अनुसन्धानले सरकारलाई नीतिगत रुपमा काम गर्न सहयोग गर्ने बताउनुभयो । माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा. देवराज जोशीले त्रिभुवन विश्वविद्यालयसँग दक्ष जनशक्ति भएका कारण सरकार तथा निजी क्षेत्रलाई आवश्यक अनुसन्धानमा सहकार्य गर्न आह्वान गर्नुभयो ।