चिकित्सा शिक्षाको पाठ्यक्रम परिमार्जनमा चिकित्सा शास्त्र अध्ययन संस्थानको महत्वपूर्ण उपलब्धि: एमबीबीएस, बीडीएस तथा सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम संशोधन सम्पन्न

चिकित्सा शिक्षाको पाठ्यक्रम परिमार्जनमा चिकित्सा शास्त्र अध्ययन संस्थानको महत्वपूर्ण उपलब्धि: एमबीबीएस, बीडीएस तथा सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम संशोधन सम्पन्न

2026-11-08

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (Institute of Medicine–IOM) ले चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई केन्द्रमा राख्दै सन् २०२६ मा एमबीबीएस, बीडीएस तथा सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन सम्पन्न गरेको छ। परिमार्जित पाठ्यक्रमहरू तिहार पर्वअघि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद्बाट स्वीकृत भएका हुन्। चिकित्सा शिक्षाको समग्र सुधार, आधुनिकीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिको दिशामा यसलाई संस्थानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यसअन्तर्गत एमबीबीएस र बीडीएसका स्नातक तहका पाठ्यक्रमका साथै नौवटा डीएम (Doctorate of Medicine) र छ वटा एमसीएच (Magister Chirurgiae) गरी सुपर स्पेसियालिटी तहका सबै १५ कार्यक्रमका पाठ्यक्रम संशोधन गरिएको हो। यसरी स्नातकदेखि अति विशिष्टीकृत तहसम्मका महत्वपूर्ण चिकित्सा शिक्षा कार्यक्रमको पाठ्यक्रम एकै वर्षमा परिमार्जन हुनु संस्थानको शैक्षिक सुधारप्रतिको प्रतिबद्धता र संस्थागत प्रयासको महत्वपूर्ण परिणाम हो।

संशोधित पाठ्यक्रमहरूको प्रमुख विशेषता दक्षतामा आधारित चिकित्सा शिक्षा (Competency-Based Medical Education–CBME) को अवधारणालाई आत्मसात् गर्नु हो। यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै चिकित्सकीय तथा प्रक्रियागत सीप, सञ्चार क्षमता, व्यावसायिकता, नैतिकता, अनुसन्धान क्षमता र स्वास्थ्य प्रणालीसम्बन्धी व्यावहारिक दक्षताको विकासमा जोड दिएको छ। साथै, विद्यार्थीकेन्द्रित शिक्षण विधि, आधुनिक प्रविधि र क्लिनिकल अभ्यासबीचको समन्वयलाई थप सुदृढ बनाइएको छ। यसबाट विद्यार्थीले सिकेको ज्ञानलाई वास्तविक चिकित्सकीय अभ्यासमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने अपेक्षा गरिएको छ।

 

एमबीबीएस पाठ्यक्रममा अनुसन्धान विधिशास्त्र (Research Methodology) लाई महत्वपूर्ण पाठ्यविषयका रूपमा समावेश गरिएको छ। आन्तरिक चिकित्सा (Internal Medicine) अन्तर्गत जेरियाट्रिक मेडिसिन (वृद्धावस्थासम्बन्धी चिकित्सा) थप गरिएको छ। त्यस्तै, सञ्चार सीप, सूचना प्रविधि, कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI), चिकित्सकीय नैतिकता तथा आधुनिक शिक्षण–सिकाइ विधिलाई विशेष महत्व दिइएको छ। निरन्तर मूल्याङ्कन (Formative Assessment) लाई सुदृढ गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक दुवै परीक्षामा कुल प्राप्ताङ्कको कम्तीमा ३० प्रतिशत भार निर्धारण गरिएको छ। Mini-CEX, DOPS, OSCE तथा पोर्टफोलियोमा आधारित मूल्याङ्कनजस्ता आधुनिक विधिहरूलाई समेत प्राथमिकता दिइएको छ। यसले विद्यार्थीको सैद्धान्तिक ज्ञान मात्र नभई चिकित्सकीय सीप, व्यवहार, व्यावसायिकता र समग्र कार्यसम्पादनको निरन्तर मूल्याङ्कन गर्न सहयोग पुर्‍याउनेछ।

त्यसैगरी, बीडीएस पाठ्यक्रममा दक्षतामा आधारित शिक्षण प्रणाली अवलम्बन गर्दै दन्त चिकित्सासम्बन्धी व्यावहारिक सीप, व्यावसायिकता, सञ्चार क्षमता, नैतिकता र नयाँ प्रविधिको प्रयोगमा जोड दिइएको छ। मनोचिकित्सा (Psychiatry) लाई छुट्टै विषयका रूपमा समावेश गर्नुका साथै निरन्तर तथा निर्माणात्मक मूल्याङ्कन प्रणालीलाई थप महत्व दिइएको छ। पाठ्यक्रमलाई वर्तमान दन्त स्वास्थ्यसम्बन्धी आवश्यकता र आधुनिक उपचार पद्धतिसँग थप सान्दर्भिक बनाउने प्रयास गरिएको छ।

सुपर स्पेसियालिटी तहका सबै १५ डीएम तथा एमसीएच कार्यक्रमको पाठ्यक्रम संशोधन यस प्रक्रियाको अर्को महत्वपूर्ण उपलब्धि हो। संशोधित पाठ्यक्रमले चरणबद्ध रूपमा बढ्दो चिकित्सकीय जिम्मेवारी, कार्यस्थलमा आधारित मूल्याङ्कन (Workplace-Based Assessment), अनुसन्धान क्षमता तथा समग्र व्यावसायिक विकासलाई प्राथमिकता दिएको छ। चिकित्सा विज्ञानमा भइरहेका नवीनतम विकासलाई आत्मसात् गर्दै डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोगलाई समेत पाठ्यक्रममा समेटिएको छ। यसका साथै, आधुनिक निदान तथा उपचार पद्धति, क्लिनिकल निर्णय क्षमता र विशिष्टीकृत चिकित्सकीय दक्षताको विकासमा जोड दिइएको छ। सुपर स्पेसियालिटी तहका कार्यक्रमहरूको निर्धारित अवधि भने राष्ट्रिय नियामक प्रावधान तथा प्रचलित शैक्षिक मापदण्डअनुरूप यथावत् राखिएको छ।

पाठ्यक्रम परिमार्जनका क्रममा पुराना तथा कम सान्दर्भिक विषयवस्तु हटाउने, नयाँ र समसामयिक विषयवस्तु थप्ने, शिक्षण–सिकाइ विधिमा विविधता ल्याउने तथा मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउने कार्य गरिएको छ। आधुनिक चिकित्सा शिक्षाका अवधारणा र अभ्यासलाई नेपाली स्वास्थ्य प्रणालीको आवश्यकता तथा सन्दर्भसँग जोड्ने प्रयाससमेत गरिएको छ। यसबाट राष्ट्रिय स्वास्थ्य आवश्यकता र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुरूप दक्ष, नैतिकवान्, संवेदनशील तथा उत्तरदायी स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

संस्थानले पाठ्यक्रम परिमार्जनको यस अभियानलाई अन्य शैक्षिक कार्यक्रमहरूमा समेत निरन्तरता दिएको छ। बाँकी रहेका सबै स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रमहरू पनि हाल संशोधनको प्रक्रियामा रहेका छन्। यसले संस्थानअन्तर्गत सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमहरूमा गुणस्तर, एकरूपता र समयानुकूलता कायम गर्नुका साथै शिक्षण, सिकाइ र मूल्याङ्कनका अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

एमबीबीएस, बीडीएस तथा सबै १५ डीएम/एमसीएच गरी कुल १७ वटा शैक्षिक कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरी प्राज्ञिक परिषद्बाट स्वीकृत गराउन सफल हुनु चिकित्सा शास्त्र अध्ययन संस्थानको शैक्षिक सुधारको यात्रामा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो। बाँकी पाठ्यक्रमहरूको संशोधन कार्यसमेत अघि बढिरहेकाले नेपाली चिकित्सा शिक्षालाई अझ गुणस्तरीय, व्यावहारिक, अनुसन्धानमुखी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने संस्थानको प्रतिबद्धता थप सुदृढ भएको छ। यसले चिकित्सा शिक्षाको निरन्तर सुधारमार्फत देशको स्वास्थ्य सेवा प्रणालीलाई आवश्यक पर्ने सक्षम र दक्ष जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।