सुनाखरीको संरक्षण, अनुसन्धान तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन

सुनाखरीको संरक्षण, अनुसन्धान तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन

2026-11-20

नेपालमा पहिलो पटक आयोजना गरिएको पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ । मंसिर २ देखि ४ गतेसम्म काठमाडौंको बुढानिलकण्ठ स्थित पार्क भिलेजमा भएको सम्मेलनमा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा सुनाखरी उत्पादकहरू सहभागी थिए । सम्मेलनमा सुनाखरीको संरक्षण, वैज्ञानिक अनुसन्धान तथा व्यावसायिक प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।

अन्नपूर्ण रिसर्च सेन्टर, अन्तर्राष्ट्रिय बागवानी विज्ञान समाज (आइएसएचएस) तथा त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा भएको सम्मेलन (समृद्धिका लागि सुनाखरी ) विषयमा केन्द्रित रहेको थियो । सम्मेलनमा नेपालको जैविक विविधता, सुनाखरीको प्राकृतिक वासस्थान, संरक्षण, वैज्ञानिक अनुसन्धान, औषधीय सम्भावना तथा व्यावसायिक उत्पादनका विषयमा छलफल भएको थियो ।सम्मेलनमा २५ नेपाली तथा ४२ अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताका ४१ मौखिक र २६ पोस्टर प्रस्तुति गरिएका थियो । सो अवसरमा ६७ वटा वैज्ञानिक अनुसन्धान प्रस्तुति समेत समावेश थिए ।

सम्मेलनको समापन समारोहमा उत्कृष्ट पोस्टरलाई नगदसहित पुरस्कृत गरिएको थियो । समापन समारोहमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अन्जना सिंहले विभिन्न विधाका उत्कृष्ट प्रतिभालाई अर्वाड प्रदान गर्नुभयो ।

समापन समारोहमा बोल्दै शिक्षाध्यक्ष सिंहले सुनाखरीको सम्भावनाका विषयमा व्यापक काम हुनुपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालय नवप्रवर्तन र अनुसन्धानात्मक कार्यका लागि सहकार्य गर्न सधैँ तयार रहेको शिक्षाध्यक्ष सिंहले जानकारी दिनुभयो । अनुसन्धानात्मक कार्यमा सहकार्यका लागि अन्तराष्ट्रिय समुदायसँग उहाँले आह्वान समेत गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै त्रिवी वनस्पतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. विजया पन्तले नेपालमा पहिलो पटक आयोजना गरिएको सुनाखरी सम्मेलन सफल भएको बताउनुभयो । छेटौं सुनाखरी सम्मेलन ताइवानमा हुने समेत उहाँले जानकारी दिनुभयो ।

आयोजकका अनुसार गोष्ठीमा सुनाखरीको जैविक विविधता, वर्गीकरण, आनुवंशिक अनुसन्धान, प्राकृतिक वासस्थान संरक्षण, जलवायु परिवर्तनको प्रभाव, आधुनिक जैविक प्रविधि, टिस्यु कल्चर, औषधीय सम्भावना तथा व्यावसायिक उत्पादनका विषयमा समेत छलफल भएको थियो । नेपाल सुनाखरीको जैविक विविधताका दृष्टिले महत्वपूर्ण देश हो । नेपालमा ५०० भन्दा बढी प्रजातिका सुनाखरी पाइन्छन् ।