काठमाडौं । कार्तिक १५
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महराजगंजले स्वास्थ्य क्षेत्रको गुणस्तर तथा सुरक्षा क्षेत्रमा ख्यातिप्राप्त संस्था Consortium of Accredited Healthcare Organizations (CAHO) सहयोगमा "Quality Improvement and Patient Safety " शीर्षकको एकदिने सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा बिरामीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्ने र समग्र चिकित्सा क्षेत्रको गुणस्तर अभिवृद्धी गर्ने विषयमा राष्ट्रिय / अन्तर्राष्ट्रीय क्षेत्रमा विज्ञता हासिल गरेका व्यत्तित्वहरु विच गम्भीर साक्षात्कार भएको छ । सम्मेलनमा विरामीहरुको स्वास्थ्य सुरक्षा र गुणस्तरका बारेमा १७ बटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल सेसन समेत सञ्चालन गरिएको थियो ।
काठमाडौंको बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आयोजित सम्मेलनको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले सुरक्षा र गुणस्तरका पक्षहरु सबै प्रकारका व्यवसायिक क्षेत्रको मुख्य आत्माको रहेको उल्लेख गर्नुहुँदै गुणस्तरीय सेवाप्रवाहसँगै सेवाको पहुँच विस्तारमा पनि स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गुणस्तर र सुरक्षा एकपटक मात्रै प्रत्याभूत हुने विषय नभई निरन्तर र दिगो हुनुपर्ने, न्यूनतम पूर्वाधार,दक्ष जनशक्ति र उपकरणहरूका साथै विशेषज्ञ सेवा उपलब्ध हुनुपर्ने, सक्षम संगठनात्मक संरचना, अनुसन्धानका साथै सबैको आपसी सहयोग, ऐक्यवद्धता, नविनतम र अत्याधुनिक प्रविधिको प्रयोगले गुणस्तर र सुरक्षाप्रणालीलाई थप मजवुत बनाउनेहुँदा उक्त विषयमा समेत थप संवेदनशिल हुन अनुरोध गर्नुभएको थियो ।
सम्मेलनको उदघाटनसत्रलाई सम्वोधन गर्नुहुँदै चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा मोहनराज शर्माले विश्वविद्यालयको अस्पतालको मूल्याङ्कन विरामी परीक्षण र शल्यक्रियाकै आधारमा मात्र हुन नहुने भन्दै अनिवार्यरुपमा अन्तराष्ट्रीय मापदण्ड वमोजिम बिरामीको सुरक्षा र स्वास्थ्य गुणस्तर प्रत्याभूति हुनुपर्ने दृष्टीकोण व्यक्त गर्नुभएको थियो । उहाँले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत सञ्चालित त्रिभुवन विश्वविद्यालयका ४ वटा अस्पतालहरुले विश्वस्वास्थ्य संगठनद्धारा निर्मित स्वास्थ्य प्रोटोकल (Health Protocol) अनुरुप सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य क्षेत्रको गुणस्तर तथा सुरक्षा क्षेत्रमा भारतमा रहेर विश्वव्यापी सेवा प्रवाह गरिरहेको संस्था Consortium of Accredited Healthcare Organizations (CAHO) का कार्रयकारी अध्यक्ष डा. लल्लु जोसेफले विश्वका सवै स्वास्थ्य संस्थाहरु बिरामीको सुरक्षा प्रति प्रतिबद्ध हुनुपर्ने, अस्पतालहरुप्रतिको मान्यतामा एकरुपता हुनुपर्ने, भौतिक तथा मानविय असावधानिहरु नियन्त्रण गर्नुपर्ने, गलत सुचना र सुझाव कम गर्दै समग्र स्वास्थ्य क्षेत्रको गरिमा र अनुशासन कायम गरी विश्वव्यापी मान्यता र आचारसंहिताको कार्यान्वयन हुनुपर्नेमा विशेष जोड दिनुभएको थियो ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक एवं सम्मेलनका अध्यक्ष प्रा.डा सुवास प्रसाद आचार्यले सम्मेलनवाट प्राप्त अनुसन्धानका निचोड, विज्ञहरूको अनुभव र सुझाव का साथै अन्तराष्ट्रीय प्रयोगले देशभरीका सवै अस्पतालहरु बिरामीहरुको सुरक्षामा थप जिम्मेवार बन्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले त्रिवि शिक्षण अस्पतालले जस्तोसुकै कठिनाईपूर्ण अवस्थामा समेत विरामीहरुको स्वास्थ्यमा कुनै सम्झौता नगर्ने र स्वास्थ्यक्षेत्रमा स्थापित विश्वव्यापी मान्यताको अनुसरण गर्ने बताउनुभएको थियो ।सम्मेलनमा चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन एवं प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा जशदिश अग्रवाल, त्रिवि शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक एवं ख्यातिप्राप्त मुटुरोग विशेषज्ञ प्रा.डा भगवान कोइराला, भारतको हरीयाना स्थित अमृता अस्पतालका निर्देशक डा. सञ्जिव कुमार सिंह, भारतको तालिमनाडुको कोइम्वाटोरी स्थित इन्सिच्यूट अफ हेल्थ साइन्स एण्ड रिसर्चका माइक्रोवायोलोजी विषयका प्रा.डा जे.जयालक्ष्मी एवं नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.कृष्ण प्रसाद पौडेलले प्यानल छलफलमा सहभागीभई विरामीहरुको स्वास्थ्य सुरक्षा र गुणस्तरका पक्षमा महत्वपूर्ण अनुभव साटासाट गर्नुका साथै सुझाव दिनुभएको थियो । सम्मेलनमा डा.लल्लु जोसेफ, डा. फणिन्द्र बराल, डा.पवनराज चालिसे, डा. अनिल ओडुभिल, डा. सन्जिव सिंह, प्रा.डा मोहनराज शर्मा, डा. सुनिल मुण्डकर, प्रा.डा जे.जयालक्ष्मी, डा.सविन कोइराला, डा.हरिभक्त शर्मा, डा. विनोद विजुक्छे, डा.विराजमान कर्मचार्य, डा.कपिल गौतम, डा. अपूर्व शर्मा, डा. सुलेखा श्रेष्ठ, डा.दिपेश अर्याल लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।