काठमाडौं । असोज २२
त्रिभुवन विश्वविद्यालयको बार्षिक दिवस बैठकबाट ग्रेस लिष्ट र साधारण बैठकबाट आर्थिक वर्ष २०८३।०८४ को नीति कार्यक्रम तथा बजेट पारित भएको छ । माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनको सभाकक्षमा बसेको सभाको छुट्टाछुट्टै बैठक ग्रेस लिष्ट र बजेट पारित गर्नुका २०८३ साउन १ देखि असोज २१ सम्म भएको पुँजीगत खर्चको समर्थन र त्रिवि कार्यकारी परिषद्को सदस्यहरुको र त्रिवि पुनरावेदन आयोगमा भएका नियुक्तहरुको अनुमोदन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय सभाको ६७ औं बार्षिक दिवस बैठकले ६४ औं ग्रेसलिस्टमा समावेश २०८२ असार १ देखि २०८३ असार मसान्त सम्म ट्रान्सक्रिप्ट लिइसकेका कुल ९५ हजार ५ सय ४० विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको छ । उक्त ग्रेसलिष्टमा व्यवस्थापन सङ्कायका ४३ हजार १सय ४२, शिक्षाशास्त्र सङ्कायका १९हजार ५ सय ३३, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका १५हजार ४ सय ४१,कानून सङ्कायका ३ हजार १, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ६ सय ८८, इन्जिनियरिङ अध्ययन संस्थानका ५ हजार १ सय ६०,चिकित्साशास्त्र अध्ययन संस्थानका १हजार ९ सय २०, कृषि र पशुविज्ञान अध्ययन संस्थानका ४ सय ६३ र वनविज्ञान अध्ययन संस्थानका १ सय ९२ विद्यार्थी रहेका छन् । जम्मा विद्यार्थीहरु मध्य स्नातक तहमा ७२ हजार ४ सय ४, स्नातकोत्तर तहमा २२ हजार ५ सय ३३, एमफिल तहमा २ सय ५३, पिजीडीएस तर्फ १ सय ८४ र विद्यावारिधि तर्फ १ सय ६६ जना रहेका छन् ।
त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकले त्रिभुवन विश्वविद्यालयको आर्थिक बर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम साथै आ.व २०८३।०८४ को लागी रु ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाको बजेट समेत पारित गरेको छ । प्रस्तावित बजेटको ४९.३८ प्रतिशत आन्तरिक स्रोत र बाँकी ५०.६२ प्रतिशत नेपालसरकारसँग माग गर्ने उल्लेख गरिएको छ।
त्रिभुवन विश्वविद्यालय सभालाई सम्वोधन गर्नुहुँदै शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय नेपालको उच्चशिक्षाको अभिभावक रहेको, विश्वविद्यालयले थिङ्क ट्याङ्क भूमिका निर्वाह गर्नपर्ने, विश्वविद्यालयका पाठ्यक्रमहरुमा आमूल परिर्वतन गरी रोजगारीमुलक उच्चशिक्षा उपलब्ध गराउनुपर्ने, विश्वविद्यालयले समग्र देशको शिक्षाक्षेत्रलाई मार्गदर्शन गर्नुपर्ने, अध्ययन/अध्यापनको समिति घेरावाट नवप्रवर्तन र अनुसन्धानमा केन्द्रीत हुनुपर्ने, समयमा परीक्षा र नतिजा प्रकाशन नभएको भन्ने गुनासोलाई सम्वोधन गरी एकमहिनामै नतिजा प्रकाशन गर्नुपर्ने, शैक्षिक क्यालेण्डरको अक्षरस पालन हुनुपर्ने, बेरुजु फस्यौट गरी आर्थिक अनुशासनलाई जोड दिनुपर्ने, प्रशासनिक अधिकारको विकेन्द्रीकरण गरी शैक्षिक गुणस्तर र सुशासनको प्रत्याभूती गराइनुपर्ने, कृत्रिम बुद्बिमताको कारण विश्वव्यापीरुपमा फैलिएको तरंगको सिर्जनशिल र सचेत प्रयोग र अनुसरण गरी भविष्यमा हुनसक्ने सम्भावित जोखिमहरुका बारेमा राष्ट्र र समाजलाई सुसुचित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
सभामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले त्रिवि सभाको ऐतिहासिकतालाई उजागर गर्नुहुँदै सभाले देशको शैक्षिक,बौद्धिक, सामाजिक, तथा आर्थिक विकासमा महत्वपूर्ण चिन्तन गर्नुका साथै आगामी पुस्ताको लागि कस्तो विश्वविद्यालय निर्माण गर्ने भन्ने सन्दर्भमा पनि गम्भीर आत्मसमिक्षा र संकल्प गर्नुपर्ने बताउनुभएको थियो । विश्वविद्यालय केवल ज्ञान प्रदान गर्ने संस्थामात्र नभई ज्ञान उत्पादन, अनुसन्धान, आलोचनात्मक चिन्तन, नवप्रवर्तन र राष्ट्र निर्माणका लागी आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने आधारशिला समेत रहेको उल्लेख गर्नुहुँदै उपकुलपति प्रा.डा थापाले पारदर्शिता विश्वविद्यालयको पहिचान हुने, डिजिटल प्रणाली मार्फत परिवर्तनको दिशामा निर्णायक कदम चालिने,जीवनोउपयोगी शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाज्ञ विश्वविद्यालयको केन्द्र बनाइने लगायतका संकल्पहरु समेत व्यक्त गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय सभाको क्रमश: बार्षिक तथा साधारण बैठकमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले ६४ औं ग्रेस लिष्ट का साथै आ.व २०८३।०८४ को नीति तथा कार्यक्रम र आ.व २०८३।०८४ को बजेट पेस गर्नुभएको थियो भने । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना महर्जन सिंहले त्रिवि सभाको बार्षिक र साधारण दुवै वैठक सञ्चालन गर्नुका साथै कृतज्ञता ज्ञापन गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा सभासदहरु सत्रुघ्न प्रसाद गुप्ता, प्रा.डा बसन्त ढकाल, डा.कल्पना लुईटेल, छत्रबहादुर कार्की, कमलराज सापकोटा, डा. शिवनारायण यादव, रेशु अर्याल ढुङ्गाना, विष्णु पोखरेल, दिपकराज जोशी, लगायतले नीति कार्यक्रम तथा बजेट प्रति आ/आफनो धारणा व्यक्त गर्नुहुँदै महत्वपूर्ण सुझाव दिनुभएको थियो ।