त्रिभुवन विश्वविद्यालयले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले प्रभावितहरुको सहयोगका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नौ करोड पच्चीस लाख (९,२५,००,०००) जम्मा गरेको छ । त्रिभुवन विश्वविद्यालयले माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेल मार्फत उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । उक्त रकम त्रिवि कार्यकारी परिषद्को मिति २०८३।०५।१२ को निर्णायानुसार त्रिविका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको २०८३ भदौ तलववाट कट्टागरिएको हो । शिक्षा तथा खेलकुल मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपतिज्यू समक्ष चेक हस्तान्तरण गर्नुभएको थियो। उक्त चेक हस्तान्तरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा अञ्जना महर्जन सिंह, रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा सुशीलबहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकरप्रसाद खनाल, वनविज्ञान अध्ययन संस्थानका डीन प्रा.डा ठाकुर सिलवाल, व्यवस्थापन संकायका डीन प्रा.डा महानन्द चालिसे, कानुन संकायका डीन प्रा.डा डी.एन पराजुली, त्रिवि कार्यकारी परिषद्का सदस्यद्बय प्रा.डा विजया पन्त र प्रा.डा कन्हैया सापकोटा एवं आर्थिक प्रशासन महाशाखा प्रमुख राजेशसिंह देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण कार्यक्रमलाई संक्षिप्त सम्वोधन गर्नुहुँदै माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोषमा उल्लेखनीय रकम हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै त्रिवि नेतृत्वलाई विश्वविद्यालयको समग्र प्राज्ञिक उन्नयन गर्न र सुशासनको अनुभुती हुनेगरी कार्यसम्पादन गर्न विशेष अनुरोध गर्नुभएको थियो ।