त्रिभुवन विश्वविद्यालय,इन्जिनियरिङ अध्ययन संस्थान,पूल्चोक क्याम्पसले यसवर्ष हङकङमा सम्पन्न भएको अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता २०२६ (ABU Asia-Pacific Robot Contest 2026) मा क्वार्टरफाइनल सम्मको यात्रा तय गर्दै ABU Robocon Most Valuable Person Award र SMC Award प्राप्त गर्न सफल भएको छ । क्याम्पसले विगत लामो समयदेखि रोवोटिक्स प्रतियोगितमा नेपालको प्रतिनिधित्व गर्दै आएको छ। एबीयू एसिया–प्यासिफिक रोबोकनमा विगत २६ वर्षदेखि निरन्तर सहभागी हुँदै आएको पुल्चोक क्याम्पसले बेस्ट इन्जिनियरिङ अवार्ड, बेस्ट आइडिया अवार्डलगायत दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि वर्षभरि गरिने अनुसन्धान, डिजाइन र प्रयोगात्मक अभ्यासलाई यसपटक आपत्कालीन उद्धार कार्यमा समेत उपयोग गरिएको छ। चिलिमे सुरुङमा फसेका व्यक्तिहरूको उद्धारमा निर्माण गरिएका उपकरणले कठिन परिस्थितिमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा पुल्चोक क्याम्पसबाट सहभागी नेपाली टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै क्वार्टरफाइनल चरणसम्मको यात्रा तय गर्न सफल भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै नेपाली टोलीले दुईवटा महत्वपूर्ण अवार्ड समेत हात पारेको छ।
टोलीले ABU Robocon Most Valuable Person (MVP) Award तथा SMC Award प्राप्त गरेको हो। अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै दुईवटा अवार्ड जित्नु नेपाली रोबोटिक्स क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यस वर्षको प्रतियोगिताको थिम २०२५ अगस्ट २३ मा सार्वजनिक गरिएको थियो। प्रतियोगितामा सहभागी रोबोटहरूले भर्याङ, स्लोप तथा विभिन्न कठिन संरचनामा चल्न सक्ने क्षमता प्रदर्शन गर्नुपर्ने व्यवस्था थियो। साथै, विभिन्न प्रकारका वस्तु तथा सामग्री पहिचान गरी आवश्यक वस्तु टिपेर तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्नुपर्ने चुनौतीसमेत रोबोटले पूरा गर्नुपर्ने थियो।
यस्ता जटिल चुनौतीलाई सामना गर्न सक्षम रोबोट निर्माणका लागि पुल्चोक क्याम्पसले आवश्यक सहयोग र वातावरण उपलब्ध गराएको थियो। क्याम्पसका विभिन्न विभागहरूको समेत महत्वपूर्ण सहयोग रहेको टोलीले जनाएको छ।
विशेषगरी पुल्चोक क्याम्पसमा स्थापित रोबोटिक्स क्लबले विद्यार्थीहरूको अनुसन्धान तथा विकास गतिविधिलाई निरन्तर अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। क्लबले वर्षभरि विद्यार्थीहरूलाई अनुसन्धान, डिजाइन, निर्माण तथा परीक्षणका लागि आवश्यक वातावरण उपलब्ध गराउँदै आएको छ।विद्यार्थीहरूको निरन्तर मेहनत, अनुसन्धान तथा विकाससँगै क्याम्पस र विभिन्न विभागबाट प्राप्त सहयोगका कारण नेपाली टोलीले अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्नुका साथै दुई महत्वपूर्ण अवार्ड जित्न सफल भएको हो।
