अनुसन्धान आचरणसम्बन्धी तालिम कार्यक्रम सम्पन्न ।
२८ फागुन, कीर्तिपुर
विज्ञान तथा प्रविधि अध्ययन संस्थानले अनुसन्धानमा अपनाउनुपर्ने आचरण सम्बन्धमा एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । अनुसन्धान आचरण समीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चित्रबहादुर बुढाथाेकीकाे प्रमुख आतित्थ्यमा उद्घाटित उक्त कार्यक्रमको सभापतित्व अध्ययन संस्थानका डीन प्रा.डा. शंकर प्रसाद खनालले गर्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष बुढाथाेकीले आफ्नो मन्तव्यमा त्रिविमा अनुसन्धान आचरण समीक्षाको महत्व दर्शाउँदै अनुसन्धान आचरण समीक्षा बोर्डको कार्यविधि निर्माण र बोर्ड गठनका सम्बन्धमा विगतमा भएका प्रयासहरुको जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव प्रमोद जोशी लगायत स्वास्थ्य अनुसन्धान परिषद्का डा. हरिप्रसाद ढकाल. नमिता घिमिरेले स्वास्थ्य अनुसन्धान परिषद्ले अपनाएको कार्यविधि र अनुसन्धान आचरण समीक्षा विधिका बारेमा प्रस्तुति दिनुभएको थियो । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन शंकर प्रसाद खनाल, सहायक डीन डा. कोमलराज रिजाल, अनुसन्धान आचरण समितिका अध्यक्ष संगीता राजभण्डारी र सदस्यहरु प्रा.डा. सृजनलाल श्रेष्ठ, डा. मेघराज बन्जारा, डा. सुप्रिया शर्मा लगायतले अध्ययन संस्थानको अनुसन्धानको अवस्था र अनुसन्धान आचरण समीक्षाको आवश्यकता र यसको कार्यविधि र हालको अनुसन्धान समीक्षा अवस्थाका सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभागका विभागीय प्रमुख र शिक्षकहरु सहभागी रहेको उक्त कार्यक्रममा सहभागीहरुले कार्यक्रमले अनुसन्धानमा अपनाउनुपर्ने आचरणका सम्बन्धमा सबैलाई सचेत गराउन यो कार्यक्रम सफल रहेको र यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन हुनुपर्ने कुरा बताउनुभएको थियो । कार्यक्रम पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, बल्खुको सभाहलमा सम्पन्न भएको थियो ।
