अनुसन्धान : विद्यालयमा बगैँचा

अनुसन्धान : विद्यालयमा बगैँचा

2026-01-22

त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तीपुरमा राष्ट्रीय प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गतको अनुसन्धान परियोजना " नेपालका सामुदायिक विद्यालयमा दिगो शिक्षाका लागि विद्यालय बगैँचा मार्फत उद्यमशिलता" शीर्षकको अनुसन्धानको अन्तिम जानकारी आदान/प्रदान र उपलब्धीहरुको समीक्षा तथा गरिएको छ ।अनुसन्धान परियोजनाको मुख्य अनुसन्धानकर्ता शिक्षाशास्त्र केन्द्रीय विभागका उपप्रा.डा कमल प्रसाद आचार्य र सह अनुसन्धानकर्ता उपप्राध्यापक द्धय डा.कल्पना ज्ञवाली र डा. इन्द्रराज उपाध्याय रहनुभएको छ । अनुसन्धान परियोजनाको मुख्य उपलब्धीहरुका बारेमा जानकारी गराउनुहुँदै मुख्य अनुसन्धानकर्ता डा.कमल प्रसाद आचार्यले काठमाडौं,चितवन र रसुवाका तिनवटा सामुदायिक विद्यालयलाईं केन्द्रविन्दु बनाई गरिएको अनुसन्धानमा विद्यालय हातामा बगैँचा निर्माण गरी, उक्त बगैँचामा विद्यार्थीहरुकै संलग्नतामा फलफूल,तरकारी रोपी विद्यालयलाई हरियालीकरण गर्दै उद्यमशिलता प्रर्वद्धन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान र सिपको हस्तान्तरण, उद्यमशिलता विकासको लागि क्लवहरुको निर्माण,विद्यालयका शिक्षकहरु मार्फत विद्यार्थीको परिचालन गरी शिक्षण सिकाईलाई रुपान्तरण गर्न सकिएको, विद्यार्थिमा सामाजिक र भावनात्मक विकास भएको,विद्यार्थी सिकाईमैत्री पाठ्यक्रम निर्माणमा टेवा पुगेको, दिगो र वातावरणमैत्री सिकाई प्राप्त भएको र प्रकृति आफैमा कक्षाकोठा "Nature as a Classroom" को धारणा विकास भएको अनुभव प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा बगैँचा निर्माणमा शिक्षक,अभिभावक,स्थानिय समुदाय र स्थानिय सरकारसमेतको सहभागिताले सरकार लगायत सरोकारवालालाईं समेत बगैंचा मार्फत विद्यालयहरुमा उद्यमशिलताको विकास गर्दै "सिक्दै कमाउदै" भन्ने नारालाई सार्थक बनाउन सकिने सन्देश अनुसन्धानको क्रममा प्राप्त भएको बताउनुभयो ।

उक्त परियोजनाबाट अनुसन्धानसमूहले ३ बटा अनुसन्धान लेख प्रकाशित गर्नुका साथै स्नातकोत्तर तहमा अध्ययनरत ३ जना विद्यार्थीलाई थेसिस गर्न सहयोग गरेको छ । अनुसन्धान परियोजनाको अन्तिम जानकारी तथा उपलब्धीहरु आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षाशास्त्र संकायका डीन प्रा.डा वेदाराज आचार्य,अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा ईश्वर कोइराला,राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा भइरहेका अनुसन्धान परियोजना समितिका सदस्य प्रा.डा नरेन्द्रराज खनाल, शिक्षाशास्त्र संकायका पूर्वडीन प्रा.डा चित्रबहादुर बुढाथोकी एवं वरिष्ठ प्राध्यापक वासुदेव काफ्ले र शिक्षाशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शम्भु प्रसाद खतिवडाले अनुसन्धानलाई नीतिगत तहमा समेत कार्यान्वय गर्न महत्वपूर्ण सुझाव दिनुका साथै पृष्ठपोषण गर्नुभएको थियो ।