त्रिभुवन विश्वविद्याल सभाको साधारण बैठक आर्थिक बर्ष २०८२।०८३ को लागि विभिन्न नीति तथा कार्यक्रमहरु तथा त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्वन्धी नियममा गरिएको संशोधन प्रस्ताव पारीत गरि सम्पन्न भएको छ ।
नीति तथा कार्यक्रमले मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास,शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार,परीक्षा सुधार,संस्थागत पुनर्संरचना तथा विकास,सूचना प्रविधी र डिजिटल रुपान्तरण,अनुसन्धान तथा प्रकाशन,भौतिक पूर्वाधार,विश्वविद्यालयको स्रोत परिचालन,अनुगमन,गुणस्तर नियन्त्रण र सुशासन,अन्तर्राष्ट्रीयकण र विश्वश्रेणीकरणमा सुधार र वित्तिय व्यवस्थापनका सम्वन्धमा नीतिगत सुधारका प्रस्तावहरु संलग्न रहेका छन् ।
प्रधानमन्त्री एवं त्रिविका कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तीपुर स्थित त्रिभुवन स्मृती भवनमा आयोजित सभाको साधारण बैठकमा उच्चशिक्षाको अध्ययन/अध्यापनमा उद्यमशिलता र रोजगारीको अवधारणा संलग्न गरीनुका साथै उच्च शिक्षामा आम समुदायको पहुँच,उच्चशिक्षाको गुणस्तर अभिबृद्धी, दक्ष जनशक्ति व्यवस्थापन तथा अनुसन्धान र स्तरीय प्रकाशनलाई प्राथिमकता दिइएको छ । त्रिवि सभाको साधरण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयले देशको लागि आवश्यक महत्वपूर्ण दक्ष जनशक्ति निर्माण गरी राष्ट्रको विकासमा योगदान गरिरहेको बताउनुभयो । देशको कमजोर आर्थिक अवस्थाका कारण अपेक्षित रुपमा विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सेवा सुविधा उपलब्ध गराउन असहज भएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई आत्मनिर्भरता तर्फ अघि बढन र स्वआर्जनका विभिन्न स्रोतहरु खोज्न र अन्तराष्ट्रीय अनुदान र कार्यक्रमहरुमा समेत संलग्न भई आर्थिक स्रोतहरुको संकलन गर्न अनुरोध गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयको कुलपति त्रिवि सभाले आफै चयन गर्न पाउनुपर्ने पर्छ भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै विश्वविद्यालय आफ्नो नीती, कार्यक्रम र बजेट निर्माण गरी कार्यान्वयन गर्न पूर्णरुपमा स्वत्नत्र बनाइनुपर्ने धारणा समेत ब्यक्त गर्नुभएको थियो । सभामा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गाको सम्वन्धमा गठित समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्न, विश्वविद्यालयका चार(४) बटा अनुसन्धान केन्द्रहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रीय अनुसन्धान गर्नेगरी पूर्नविकास गर्न, विश्वविद्यालय परीसरलाई सौन्दर्यकरण गर्न,विदेश अनुसन्धानकर्ता तथा विद्यार्थी आकर्षण गर्ने गरी शैक्षिक बातावरण निर्माण गर्न, प्रयोगशाला र पुस्तकालयहरुलाई थप व्यवस्थित गर्न, शैक्षिक क्यालेण्डरको कार्यान्वयन गरी विद्यार्थीका गुनासो सम्वोधन गर्न,परीक्षा नियन्त्रण कार्यालयमा हुने गरेका ढिलासुस्तीलाई तत्काल सम्वोधन गर्न, व्यवहारीक अनुसन्धानमा विशेष ध्यान दिन र विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने व्यवस्था गर्न साथै विश्वविद्यालयका सवै शैक्षिक तथा प्रशासनिक डाटाहरुलाई व्यवस्थित गरी डिजिटलाइजेसनमा थप काम गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले विश्वविद्यालयको नीती तथा कार्यक्रम सभा समक्ष पेश गर्नुभएको थियो भने रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्वन्धी नियम २०५० मा स्तरवृद्धि सम्वन्धी व्यवस्थामा संशोधन गरेको छ ।