उपकुलपतिलाई सम्मान

उपकुलपतिलाई सम्मान

2025-07-25

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले त्रिविका नवनियुक्त उपकुलपति प्रा डा दिपक अर्याललाई सम्मान गरेको छ ।

मिति २०८२।०४।०९ मा कीर्तीपुर स्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा एक विशेष कार्यक्रम गरि उहाँलाई सम्मान गरिएको हो । नवनियुक्त उपकुलपतिलाई विभागका विभागीय प्रमुख प्रा.डा टेक बहादुर क्षेत्रीले सम्मानपत्रका साथै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै विश्वविद्यालयको सर्वाङीण विकाशमा विशेष योगदान गर्न समेत अनुरोध गर्नुभएको थियो ।

उपकुलपति प्रा.डा अर्याल वि.स २०५२ साल देखि निरन्तररुपमा उक्त विभागमा प्राध्यापनरत रहनुभएको छ । वि.स २०४३ सालमा त्रिचन्द्र क्याम्पसबाट प्रारम्भ भएको विभागमा हाल ३४ औ बर्षका विद्यार्थी अध्ययनरत रहेका छन् । २०५२ सालमा शिक्षण सहायक, २०५४ मा सहायक प्राध्यापक, २०६६ देखि २०६७ सम्म सहप्राध्यापक र २०६८ देखि प्राध्यापक पदमा कार्यरत उपकुलपति अर्यालले वि.स २०७१ मा त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी उपाधि हासिल गर्नुभएको हो । उहाँकै नेतृत्वमा विभागले गुणस्तर प्रत्यायन प्राप्त गर्नुको साथै अन्तराष्ट्रीयकरण र प्राविधिक उपकरणसहित विभागको आधुनिकिकरणा महत्वपूर्ण उपलब्धी हासिल भएको विभागले जनाएको छ । सम्मान कार्यक्रमलाई संक्षिप्त सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा डा अर्यालले विश्वविद्यालयको समग्र विकास र प्राज्ञिक उन्नयनका लागि दिनरात खटने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । विभागमा झै विश्वविद्यालयमा पनि एउटा योग्य र सक्षम टिम प्राप्त भएकोले सवैको साथ र समर्थनबाट विश्वविद्यालयलाई नेतृत्व प्रदान गर्ने बताउनुभयो । विभागको स्थापनाकालदेखि नै योगदान गर्ने पूर्व विभागिय प्रमुखहरुको महत्वपूर्ण योगदानको स्मरण गर्नुभएको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा शंकर प्रसाद खनाल,  जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वविभागिय प्रमुख प्रा.डा खडग बहादुर थापा, दक्षिण एसियाली जल तथा मौसम विज्ञान समाजका महासचिव प्राध्यापक डा.सोमेश्वर दास,  नेपाल सरकारका सचिव सर्जुकुमार वैद्य, जल तथा मौसम विभागका उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो । साथै जल तथा मौसम विज्ञान केन्द्रीय विभागक सहप्राध्यापक डा विनोद दवाडीले नवनियुक्त उपकुलपति अर्यालका व्यक्तित्वका बारेमा जानकारी गराउनुभएको थियो ।