प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बार्षिक दिवस बैठकले त्रिविको ६३ औं ग्रेस लिस्ट पारीत गरेको छ । ग्रेस लिस्टमा २०८१ असार १ देखि २०८२ जेठ मसान्तको अवधिमा तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरि स्नातक,पिजिडी, स्नातकोत्तर, एमफिल र विद्यावारिधि परीक्षा समेत उत्तिर्ण गरी ट्रान्सक्रिप्ट समेत लिइसकेका उनान्ननब्वे हजार एक सय एकानब्बे ८९,१९१ जना विद्यार्थी रहेका छन् । जसअन्तर्गत व्यवस्थापन संकायका ४३६१०, शिक्षाशास्त्र संकायका १६४६७, मानविकी तथा सामाजिक शास्त्र संकायका १४,८५१, कानुन संकायका २३३५, विज्ञान तथा प्रविधि अध्ययन संकायका ७४६४, इन्जिनियरिङ्ग अध्ययन संस्थानका १४६३, चिकित्साशास्त्र अध्ययन संस्थानका २८८०, कृषि र पशु विज्ञान अध्ययन संस्थानका ४६७ र वन विज्ञान अध्ययन संस्थानका २४५ जना विद्यार्थी दीक्षान्त समारोहमा समावेश हुन सक्नेछन् । यसैगरी त्रि.वि सभाको साधारण बैठकले आर्थिक बर्ष २०८२।०८३ को लागि प्रस्ताविक रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाको बजेट समेत पारीत भएको छ ।
त्रिवि सभाको दुवै बैठकलाई सम्वोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री एवं त्रिविका कुलपति के.पी शर्मा ओलीले आर्थिक बर्षको प्रारम्भ हुनु अगावै सवै विश्वविद्यालयहरुको बजेट पारित हुनुपर्छ भन्ने मान्यताअनुरुप सभाको आयोजना गरी उपयुक्त थिति बसालेको बताउनु भएको थियो । नवनियुक्त उपकुलपती प्रा.डा दिपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले त्रिभुवन विश्वविद्यालय मुलुककै ज्ञान उत्पादनको महत्वपूर्ण केन्द्र र लोकतान्त्रिक पद्धतिका ज्ञानको परम्परा निर्माण गर्ने स्वायत्त निकायहरु रहेको बताउनुभयो । मुलुकलाई आवश्यक पर्ने उच्च दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान ग गर्दै आइरहेको मुलुककै एक शैक्षिक धरोहरको रुपमा प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयले आफूलाई निरन्तर परिमार्जन गर्दै व्याप्त शैक्षिक एवं प्रशासनिक चुनौतीको सामना गर्दै निरन्तर परिमार्जित र अद्यवधिक हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा=डा दिपक अर्यालले नियुक्तिको छोटो समयमै सभामा उपस्थित हुनुपरेकोले कतिपय विषयमा आफूले उपयुक्त दृष्टीकोण निर्माण गर्ने समय समेत नभएको धारणा व्यक्त गर्नुहुँदै त्रिविलाई सरकारले उपयुक्त सुरक्षाको व्यवस्था गर्न सके छोटो समयमै तात्विक परिवर्तन आउने गरी सुधारका कामहरु गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो । अगामी दिनमा सम्पूर्ण सभासदहरुलाइ सभाका विषयहरु विद्युतिय माध्यामद्धारा उपलब्ध गराई अन्तरक्रिया गराउने परिस्थिति निर्माण गर्ने र सभालाई संक्षिप्त बनाउने बताउनुभएको थियो ।सभामा सञ्चालन त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा=डा खडग केसी र आर्थिक वर्ष २०८२।०८३को बजेट तथा ग्रेस लिस्टको सारांश त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदार प्रसाद रिजालले प्रस्तुत गर्नुभएको थियो ।