त्रिभुवन विश्वविद्यालयले अनुसन्धान विशिष्टतामा आधारित खुला प्रतियोगिता मार्फत प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरिकएको विज्ञापन सम्वन्धमा उठेका विभिन्न विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
मिति २०८२।०२।२३ गते ललितपुर स्थित पूल्चोक क्याम्पस परिसरमा रहेको जिरो इनर्जी हाउसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खडग के.सीले अनुसन्धान विशिष्टतामा विभिन्न तहका प्राध्यापहरु भित्राउने उच्चशिक्षामा प्रचलित विश्वव्यापी परम्परा रहेको जसले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा निरन्तर क्रियाशिल दक्ष व्यक्तिलाई विश्वविद्यालय सेवामा संलग्न गराउन सकिने, विद्यावारिधी न्यूनतम योग्यता हुने हुँदा तलवी अध्ययन विदा दिई करोडौ खर्च गर्नु नपर्ने, देश विदेशका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धान गरेका अनुभवले उच्चशिक्षालाई ज्ञान उत्पादनको केन्द्र बनाउन सहज हुने, विश्वविद्यालयको गुणस्तर तथा विश्व वरियताक्रममा सुधार हुने, विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धानात्मक संस्कृतीमा परिवर्तन हुने मुलुकै उच्चशिक्षामा गुणस्तरीय सुधार हुने भएकोले १० जना प्राध्यापक, ३० जना सहप्राध्यापक र १ सय जना उपप्राध्यापकहरु अनुसन्धान विशिष्टतामा नियुक्त गर्ने गरी त्रि. वि सेवा आयोग मार्फत विज्ञापन गराइएको बताउनुभयो । पत्ररकार भेटघाट कार्यक्रममा त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष एवम् त्रि.वि कार्यकारी परिषद्का सदस्य प्रा.डा लालुप्रसाद पौडेलले अनुसन्धान विशिष्टतामा आधारित विज्ञापन त्रिविले २०७३ असोज ५ गते पहिलो पटक र २०७६ पुस ३ मा दोस्रो पटक गरी सफल अभ्यास गरिसकिएको बताउनुभयो । उहाँले अनुसन्धान विशिष्टतामा आधारित पदमा विद्यावारिधि न्यूनतम योग्यता हुने, राष्ट्रीय तथा अन्तराष्ट्रीय विशिष्ट्रिकृत जर्नलमा अनुसन्धानमुलक लेख प्रकाशित भएको हुनुपर्ने, उक्त विषयमा पुस्तक प्रकाशित भएको हुनुपर्ने, आफ्नै कुनै अनुसन्धानमुलक तथा नवप्रर्तनात्मक उत्पादन रजिष्ट्रर(दर्ता) भएको हुनुपर्ने जानकारी गराउँनुहुँदै अध्ययन/अनुसन्धानमा लामो समयसम्म क्रियाशिल सक्षम व्यक्तित्व र अनुसन्धानकर्ता मात्रै छनौट भएर आउनेहुँदा योग्यता, क्षमता र विशेषज्ञतामा कुनैपनि शंका नगर्न सवैमा अनुरोध गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा दुविनन्द ढकालले अनुसन्धान विशिष्टतामा गरिएको पदपूर्तीले अनुसन्धान तथा प्रकाशनको गुणस्तर अभिवृद्धी गर्ने, विदेशमा रही महत्वपूर्ण शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा योगदान गरेकहरुको देशमा फर्कीइ बौद्धिक आर्जन हुने, विश्वविद्यालय भित्रै प्रतिस्पर्धी वातावरण सिर्जना भई उच्चशिक्षा थप प्रभावकारी हुने धारणा व्यक्त गर्नुभएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले उठाएका विभिन्न सवालहरुलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले यस अघि प्राध्यापक र सहप्राध्यापकमा सिमित अनुसन्धान विशिष्टतामा खुला प्रतियोगिताको दायरा फराकिलो पारिएको,अन्तराष्ट्रीय स्तरमै प्रयोगमा ल्याइएको अव्वल र उपयुक्त विधिलाई अनुसरण गरिएको र उच्च शैक्षिक एवम् अनुसन्धान विशिष्टता भएका जनशक्तिलाई विश्वविद्यालयमा अवसर सिर्जना गर्न खोजिएकोले कसैलाई अन्यथा नलिन अनुरोध गर्नुभएको थियो ।