वन विज्ञान अध्ययन संस्थानद्धारा क्षमताअभिबृद्धि तालिम सम्पन्न

वन विज्ञान अध्ययन संस्थानद्धारा क्षमताअभिबृद्धि तालिम सम्पन्न

2025-06-01

त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा अध्ययन संस्थान अन्तर्गतका विभिन्न आंगिक क्याम्पस तथा स्कूलमा कार्यरत शिक्षकहरुलाई कार्यक्षेत्र केन्द्रीत क्षमताअभिबृद्धि तालिमको दोस्रो चरण सम्पन्न गरेको छ ।

काठमाडौंको शिवपुरीमा आयोजित तालिममा विभिन्न क्याम्पस तथा स्कुलमा अध्यापनरत २५ जना शिक्षकहरु समावेश हुनुभएको छ । २०८२ जेठ १२ देखि १९ सम्म आयोजित दोस्रो चरणको उक्त तालिममा कार्यक्षेत्र केन्द्रीत पाठ्यक्रम निर्माण, सूचना तथा प्रविधिको प्रयोग, सिकाई व्यवस्थापन प्रणाली, अनुसन्धान प्रस्ताव लेखन, पाठ्यसामाग्री निमार्ण, शिक्षण विधि र मूल्याङ्कन पद्धति, कक्षा व्यवस्थापनका विविध पक्षहरु, तनाव व्यवस्थापन, कक्षाकोठामा शिक्षक र विद्यार्थीको भूमिका,  अध्ययन/अध्यापनमा अनुसन्धानको प्रयोग लगायतका शिर्षकहरुमा अन्तरक्रियात्मक तालिम दिइएको थियो ।

तालिमको समापनसत्र लाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले सिकाईलाई कसरी प्रविधीसँग प्रयोग गर्ने र सिकाईलाई रोजगारीमा रुपान्तरण गर्ने उदेश्यले यस प्रकारका तालिमहरु सञ्चालन गरिएको बताउनुभयो । विश्वबैंकको ऋणसहयोगमा गरिएका यस प्रकारका कार्यक्रमहरुले युवापुस्ताका शिक्षकहरुलाई नयाँ पाठ्यक्रम निर्माण, प्रविधीको प्रयोग र उद्यमशिलताको विकासका लागि थप सहयोग पुयाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो  । त्रिविले राम्रा शिक्षकहरुलाई विश्वविद्यालयमा भित्राउन लागिपरहेको भन्दै विश्वविद्यालयको समग्र विकासका लागी सकरात्मक भएर आफनो कार्यक्षेत्रमा कार्यरत रहन सवैलाई विशेष अनुरोध गर्नुभएको थियो ।

वनविज्ञान अध्ययन संस्थानका डीन डा. ठाकुर सिलवाल त्रिविको विश्वस्तरीय प्रतिष्ठा र गरिमाका कारण धेरै योग्य व्यक्तिहरु संलग्न हुन चाहिरहेको भन्दै त्रिविमा  धेरै राम्रा र उपयोगी शैक्षिक कार्यक्रमहरु रहेको र त्यसले समाजमा सकरात्मक प्रभाव समेत पारिरहेको बताउनुभयो ।तालिममा सिकेका सम्पूर्ण विषयहरुलाई कक्षाकोठमा रुपान्तरणा गर्न सबै शिक्षकहरुलाई विशेष अनुरोध गर्नुभएको थियो ।

वनविज्ञान अध्ययन संस्थानका सहायक डीन डा.सोनी बरालले विगतदेखिनै क्षमता अभिवृद्धी कार्यक्रम निर्माणमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुहुँदै तालिममा सहभागी सबैले सक्रियतापूर्वक सहभागी हुनुभएका सवै शिक्षकहरुले कक्षाकोठको सिकाईमा व्यवहारिक हुने र सारतभूत रुपमा सवैपक्षमा परिवर्तन गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

तालिममा बनविज्ञान अध्ययन संस्थानका डीन डा. ठाकुर सिलवाल,  पूर्वडीन प्रा.डा कृष्णराज तिवारी, बन विज्ञान अध्ययन संस्थानका सहायक डिन डा. सोनी बरालका साथै प्रा.डा पेशल खनाल,  डा.रोमकान्त पाण्डे, डा. वेदप्रसाद ढकाल, डा. प्रह्लाद थापा, नारायण तिवारीले तालिम दिनुभएको थियो । विश्वविद्यालय अनुदान आयोग उच्चशिक्षा सुधार कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा विश्वविद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र संकायहरुले उक्त तालिमहरु सञ्चालन गर्दै आइरहेका छन् । तालिममा शिक्षण विधिका अतिरिक्त स्थलगत रिपोर्ट, समुह प्रस्तुती, विषयगत अन्तरक्रिया, प्रश्नोत्तर लगायतका विभिन्न विधि मार्फत तालिममा सहभागितात्मक प्रक्रिया अनपनाईएको थियो ।