त्रिविमा उत्कृष्ट अनुसन्धान पुरस्कार वितरण
त्रिभुवन विश्वविद्यालयले आर्थिक बर्ष २०८१।०८२ मा उत्कृष्ट अनुसन्धान गर्ने विज्ञान विधा तर्फबाट भौतिकशास्त्र केन्द्रीय विभागमा सहप्राध्यापक डा माधव प्रसाद घिमिरे र सामाजिक विज्ञान विधा तर्फबाट नेपाल कमर्श क्याम्पस मीनभवनमा व्यवस्थापन संकायका सहायक प्राध्यापक डा रेवन कुमार दाहाललाई उत्कृष्ट अनुसन्धान पुरस्कारले सम्मानित गरेको छ ।
आर्थिक बर्ष २०८०।०८१ बाट प्रारम्भ गरिएको उत्कृष्ट अनुसन्धान पुरस्कारको राशी रु १ लाख रुपैंया गरेको छ भने पुरस्कार विज्ञान र सामाजिक विज्ञान गरी दुई विधामा उत्कृष्ट अनुसन्धान गर्ने आवेदकहरुलाई प्रदान गर्ने गरिन्छ । उत्कृष्ट अनुसन्धान पुरस्कारका लागी छनौट गर्ने मूल्यांकनको आधारहरुमा अनुसन्धान प्रकाशन र पेटेन्ट, अनुसन्धान प्रोजेक्ट, विद्यावारिधी सुपरीवेक्षण र जम्मा एच इन्डेक्स (Total H index) रहेको छ । आर्थिक बर्ष २०८१।०८२ को लागी विज्ञान विधामा १२ र सामाजिक विज्ञानमा ४ गरी जम्मा १६ वटा आवेदन परेको थियो । उत्कृष्ट हुने विज्ञान विधा अन्तर्गतका सहप्राडा माधव प्रसाद घिमिरेले १७४ अंक प्राप्त गर्नुभएको छ भने सहायक प्राध्यापक डा रेवन कुमार दाहालले १०३ अंक प्राप्त गरी उत्कृष्ट हुनुभएको हो ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय,कीर्तिपुरमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा खडग के.सीले अनुसन्धान विश्वविद्यालयको सवैभन्दा बढि प्राथिमकतामा रहेको विषय भएको धारणा व्यक्त गर्नुहुँदै त्रिविले संस्थागत रुपमा सवै शिक्षकहरुलाई अनुसन्धानमा प्रेरित गरिरहेको र विज्ञान विधामा कार्यरत प्राध्यापकहरुले अनुसन्धानमा आफनो उल्लेख्य सहभागिता जनाउनुभएको बताउनुभएको थियो । उहाँले आगामी दिनमा अनुसन्धानको वातावरण निर्माण गर्दै अनुसन्धानमा लाग्नेहरुलाई थप प्रोत्साहित गर्ने योजना रहेको जानकारी गराउँनुहुँदै उत्कृष्ट अनुसन्धान पुरस्कार प्राप्त गर्नुहुने शिक्षक द्धय घिमिरे र दाहाललाई थप सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा त्रिविका निमित्त शिक्षाध्यक्ष प्रा.डा दुविनन्द ढकालले गुणस्तरीय अध्ययन र अनुसन्धानलले विश्वविद्यालयको गरिमा बढाउने उल्लेख गर्नुभएको थियो भने त्रिविका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले त्रिविले अनुसन्धानलाई नितिगत रुपमा नै प्राथिमकतामा राखेको र अनुसन्धानमा उपलब्ध गराउँदै आइरहेको बजेटमा समेत बृद्धि गरिदै अइरहेको बताउनुभयो उहाँले सिमित स्रोत र साधनका बावजुत उत्कृष्ट अनुसन्धान गर्नुहुँने उत्कृष्ट अनुसन्धानकर्मीलाई वधाई ज्ञापन गर्नुभएको थियो ।
तत्कालिन उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको पालामा आरम्भ गरिएको उत्कृष्ट अनुसन्धान पुरस्कार त्रिवि दिवसको उपलक्ष्यमा विगत पाँच बर्षमा अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गरेका शिक्षकहरुलाई दिने गरिएको त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा ईश्वर कोइरालाले बताउनुभयो ।