त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र काठमाडौँ रिसर्च एण्ड एजुकेशन सेन्टर (KCRE-TU,CAS) को सहकार्यमा " गुणस्तरीय प्रश्न तयारी र उत्तर पुस्तिका मूल्याङ्कनका लागि क्षमता अभिवृद्धि " विषयक वैज्ञानिक कार्यशाला गोष्ठीको तेस्रो कार्यशाला गोष्ठी चितवनको सौराहमा सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले समापनसत्र लाई सम्वोधन गर्नुहुँदै हचुवाको भरमा प्रश्नपत्र निर्माण गर्ने र उत्तर पुस्तिका परिक्षणमा निर्मम भई विद्यार्थीको भविष्यलाईनै दाउपेचमा राख्ने प्रवृत्तिको सदाका लागि अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । प्रश्नपत्र निर्माणमा प्राध्यापकहरुले सरलता अपनाई कसरी विद्यार्थीहरुले जानेका ज्ञान र सिप सहजै व्यक्त गर्न सक्छन भन्ने कुरामा ध्यान दिनुपर्ने र उत्तरपुस्तिका परिक्षण प्रक्रियागत, व्यवहारिक र वैज्ञानिकहुनुपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले परिक्षा प्रणालीलाई सुधार गरी परिक्षा नियमित र नतिजा समयमै प्रकाशन गर्ने विषयलाई नितिगत रुपमा पहिलो प्राथमिकतामा राखि कार्यान्वयनमा गइरहेकोले समग्र परीक्षा प्रणालीको सुधारका लागि आवश्यक योगदान गर्नुहुन समेत सवैमा अनुरोध गर्नुभएको थियो । कार्यशाला गोष्ठीमा रजिष्ट्रार प्रा.डा रिजालले क्षेत्रीय परिक्षानियन्त्रण कार्यालायबाटै प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको भन्दै प्रश्नपत्र निर्माणमा उपत्यकामा कार्यरत प्राध्यापकहरुलाई मात्र उपयोग गर्ने प्रणालीको अन्त्य हुने समेत बताउनुभएको थियो । उहाँले विज्ञ तथा सहभागीवाट प्राप्त सुझावहरुलाई दस्तावेजमा राखि कार्यान्वयन गर्नसमेत विज्ञान तथा प्रविधी अध्ययन संस्थानलाई आग्रह गर्नुका साथै कार्यशाला गोष्ठी आयोजना गर्न सहयोग पुर्याएकोमा काठमाडौँ रिसर्च एण्ड एजुकेशन सेन्टर (KCRE-TU,CAS)लाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।
काठमाडौं, कीर्तिपुरमा अवस्थित केसीआरईमा चैत १४ देखि १९ सम्म दुई चरणको कार्यशाला गोष्ठी सकेर विज्ञान तथा प्रविधी अध्ययन संस्थानले विज्ञान विषय अध्यापन हुने उपत्यका बाहिरका आंगिक क्याम्पसहरु कार्यरत शिक्षकहरुलाई मिति २०८१।१२।२१ देखि २२ सम्म अन्तिम चरणको कार्यशाला गोष्ठी आयोजना गरेको थियो । कार्यशालाको उद्देश्य प्राध्यापकहरूको गुणस्तरीय परीक्षा प्रश्न तयारी क्षमताको वृद्धि गर्नु र शैक्षिक प्रणालीको गुणस्तर उकास्न परिकृष्त परिक्षा प्रणालीको अभ्यास गर्ने र गुणस्तरिय उत्तरपुस्तिका परिक्षणमा सघाउ पुयाउनु रहेको छ ।
कार्यशालाको यस तेस्रो सत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विज्ञान विषय अध्यापन हुने उपत्यका बाहिर कार्यरत ३० जनाको सहभागीता रहेको छ । सहभागीहरूलाई चारबटा विभिन्न समूहमा विभाजन गरी प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परिक्षणका विभिन्न आयायहरुमा केन्द्रित गरिएको छ । चितवनको सौराहामा अवस्थित होटल जंगल क्राउनमा आयोजित कार्यशाला गोष्ठीमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा. डा. शङ्कर प्रसाद खनालले अनुसन्धानमा आधारित शिक्षण र विश्वव्यापी प्रतिस्पर्धामा सक्षम स्नातकहरूको आवश्यकतामा केन्द्रीत हुनुपर्ने दृष्टिकोण व्यक्त गर्नुभएको थियो । "अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पाठ्यक्रम अद्यावधिक गर्नुको साथै परीक्षा प्रणालीलाई अन्तराष्ट्रीय तहको बनाउनुपर्ने बताउनुभएको थियो । डिन प्रा.डा खनालले कार्यशालाको महत्त्वबारे प्रकाश पार्दै उत्तर पुस्तिका मूल्याङ्कनमा गुणस्तरियता कायम गर्न र अङ्क तथा ग्रेडिङ मापदण्डलाई व्यवहारिक कार्यान्वयन गराउन विश्वविद्यालयको सवै प्राध्यापकहरुले महत्वपूर्ण योगदान गर्नु र विश्वविद्यालको परीक्षा प्रणाली र प्रश्नपत्रका बारेमा भइरहेको आलोचनालाई गम्भिरतापूर्वक लिई समग्र परिक्षाप्रणालीलाई आधुनिकिकरण र वैज्ञानिक बनाउनुपर्ने उत्तरदायित्व प्राध्यापकहरुमा रहेकोले केसिआरईको सहयोगमा यस प्रकारको कार्याशाला गोष्ठी गरिएको बताउनुभएको थियो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन प्रा.डा रामप्रसाद खतिवडाले अध्ययन संस्थानमात्रै नभई समग्र विश्वविद्यालयको लागी निकै उपयोगी मानिएको कार्यशाला गोष्ठी आयोजना गरेकोमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानलाई विशेष धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा डाटा साइन्स लगायतका नयाँ विषयमा समेत कार्यशाला आयोजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।कार्यशाला गोष्ठीमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्राडा महेन्द्र मर्हजनले त्रिविमा रहेको परीक्षा प्रणालीमा रहेका कठिनाईहरु समाधान गर्नुपर्नेे र प्रश्न पत्र निर्माण एवं उत्तरपुस्तिका परीक्षण लाई व्यवस्थित विधि मार्फत बैज्ञानिक र सरलीकरण गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा केसीआरईका उपनिर्देशक डा. विनोद दवाडीले त्रिभुवन विश्वविद्यालयको शैक्षिक एवम् वैज्ञानिक क्षमता अभिबृद्धिका लागी चाइनिज एकेडेमी अफ साइन्सेसले केसीआरईमार्फत महत्वपूर्ण योगदान गरिरहेको र विश्वविद्यालयको आवश्यकता एवं अपेक्षालाई सहयोग पुर्याउने उदेश्यले यो कार्यशाला प्रश्नपत्र डिजाइन र उत्तर पुस्तिका मूल्याङ्कनमा हुने त्रुटिहरू रोक्न र कम गर्न आयोजना गरिएको बताउनुभएको भएको थियो ।
काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशसन (केसीआरई) का उपनिर्देशक Dr. Tianli Xu ले आगामी दिनमा चाइनिज एकेडेमी अफ साइन्सेस मार्फत केसिआरईले विभिन्न प्रकारका क्षमता अभिवृद्धी एवम् वैज्ञानिक सहकार्य लगायतका कार्यक्रम निर्माणका लागि सहयोग गर्दै आइरहेको र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यशालामा प्रश्नपत्र निर्माण र उत्तर पुस्तिका परिक्षणमा लामो समयदेखि आवद्ध विज्ञहरु डा॰श्रीराम खड्का, डा॰सुनिल पोखरेल र डा॰रमेश प्रसाद सापकोटाले तिनै वटा चरणमा उपस्थित सहभागीहरुलाई सहजिकरण गर्नुहुनेछ ।समापन कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै विज्ञ डा॰सुनिल पोखरेलले त्रिभुवन विश्वविद्यालयमा रहेको परिक्षा प्रणालीका कैयौ सकरात्मक पक्ष रहेको भएतापनि उक्त प्रणालीलाई थप सहभागितामुलक एवम् केही कमजोरी र समस्यालाई तत्काल निराकरण गर्न सकिने धारणा समेत बताउनु भएको थियो । अन्तराष्ट्रियस्तरको प्रश्न निर्माण र उत्तरपुस्तिका परिक्षणका लागि सहभागी प्राध्यापकहरुमा देखिएको उत्साह र सहयोगले आफुहरुलाई सहजिकरणमा निकै सहज भएको समेत धारणा व्यक्त गर्नुभएको थियो ।