जलतथा मौसम विज्ञान केन्द्रीय विभागको ३९ औं बार्षिक दिवस

जलतथा मौसम विज्ञान केन्द्रीय विभागको ३९ औं बार्षिक दिवस

2025-03-26

 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३९ औं बार्षिक दिवस सम्पन्न भएको छ ।

कीर्तिपुर स्थित विभागको सभाकक्षमा आयोजित बार्षिक दिवस समारोहको उदघाटन विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले विरुवामा पानि हालेर गर्नुभएको थियो । बार्षिक दिवस समारोहलाई सम्वोधन गर्नुहुँदै डीन प्रा.डा खनालले जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा सक्षम शिक्षक, उपयुक्त र प्रभावकारी भौतिक पूर्वाधार, आवश्यक प्रयोगशाला र राष्ट्रिय/अन्तराष्ट्रिय स्तरका सहकार्य भइरहँदा विद्यार्थीको आकर्षण किन बढन सकेन समिक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले विभागले अद्यवधिक गरेको पाठ्यसामग्री बजारको आवश्यकता अनुरुप भएकोले विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराउदै आएको बजारको आवश्यकता अनुरुप पाठ्यसामग्री बनाउने निकायलाई दिने अनुदान समेत लिन अनुरो गर्नुभएको थियो । प्राज्ञिक निकाय भएको कारण सवै केन्द्रीय विभागले अन्तराष्ट्रिय सहकार्य र नवप्रर्वतनात्मक अनुसन्धानात्मक गतिविधीलाई केन्द्रविन्दुमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा अक्कलदेव मिश्रले जल तथा मौसम विज्ञान केन्द्रीय विभागले गरिरहेको शैक्षिक प्रगतीको प्रशंसा गर्नुभयो । उहाँहरुले विद्यार्थीहरुको सक्रियतामा भएको पोस्टर प्रदर्शनीले विद्यार्थीहरुमा अनुसन्धान र विषयवस्तुको बुझाइ र धारणालाई थप फाकिलो बनाउने गरेको बताउनुभएको थियो ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा टेक बहादुर क्षेत्रीले बार्षिक दिवस विगतमा भएको महत्वपूर्ण कार्यहरु र आगामी दिनमा गर्ने योजनाहरुको समिक्षा गर्ने महत्वपूर्ण अवसर भएकोले सवैका सुझावहरुलाई आत्मसाथ गर्दै सुधार गर्दै अघि बढने बताउनुभएको । कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रा. डा विनोद दवाडीले स्थापनाकाल देखि विभागले गरेका महत्वपूर्ण गतिविधीका बारेमा जानकारी गराउनुभएको थियो । त्रिचन्द्र क्याम्पसवाट वि.एस्सीको अध्यापन बाट प्रारम्भ भई त्रिविको एउटा महत्वपूर्ण केन्द्रीय विभागको अवस्थामा आईपुग्दा भएका प्रशासनिक,शैक्षिक र अन्तराष्ट्रिय सहकार्यका बारेमा समेत उहाँले जानकारी गराउनुभएको थियो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागको अध्ययन/अध्यापनलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने देशभर मौसम मापन केन्द्रको स्थापना गरिएको,विद्यार्थीहरुलाई अनुसन्धान परियोजनामा संलग्न गराइएको,प्रयोगशाला स्थापना र व्यवस्थापनमा विशेष कार्य गरेको बताउनुभएको थियो । बार्षिक दिवसको उक्त अवसरमा विभागको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गर्नुहुने पूर्व विभागीय प्रमुख प्रा.डा लोचनप्रसाद देवकोटालाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो भने विभागमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई विभागमा अक्षयकोष स्थापना गरिएका चन्द्रलोक मेटेरोलोजी अर्वाड र श्रीमुखीहरिवशं नारायणदास मेटेरेलोजी अर्वाडबाट पुरस्कृत गरिएको थियो । बार्षिक दिवसको अवसरमा जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले ९ बटा छुट्टाछुट्टै पोस्टरहरु प्रर्दशन गरेको थिए र उक्त पोस्टर प्रर्दशन गर्ने विद्यार्थीहरुलाईसमेत विभागले पुरस्कृत गरेको थियो । कार्यममा नेपाल सरकार जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा.अन्जना श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रा.डा मदन सिग्देल,धन्यवाद ज्ञापन सहायक प्राध्यापक अनिता तुईतुई तथा कार्यक्रम सञ्चालन सहायक प्राध्यापक डा सुरेश मरहठ्ठाले गर्नुभएको थियो ।