त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको विद्यापरिषद्को पूर्ण बैठक विभिन्न नितिगत निर्णयहरु पारित गरी सम्पन्न भएको छ ।त्रिविका शिक्षाध्यक्ष प्राडा खडग केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा शिक्षाशास्त्र संकायलाई व्यवस्थित र प्रभावकारी बनाउन पाठ्यक्रम निर्माण,विभिन्न शैक्षिक कार्यक्रम तथा विषयहरुमा भर्नाका लागि चाहिने न्यूनतम योग्यता, पूर्वाधार निर्माण लगायतका विषयहरुमा महत्वपूर्ण निर्णयहरु भएका छन् । विद्यापरिषद्को पूर्ण बैठकलाई सम्वोधन गर्नुहुँदै शिक्षाध्यक्ष प्राडा खडग केसीले सामाजिक चेतना तथा तलव सुविधाप्रतिको बुझाइको अवस्थाका कारण नेपाल मात्रै नभई दक्षिण एसियामै शिक्षक पेशा प्रतिको आर्कषण घटदै गइरहेको र शिक्षाशास्त्र संकायप्रतिको धारणा कमजोर भएको बताउनुभएको थियो । शिक्षकलाई राज्यले मानविय क्षमताको स्तरोन्नती गर्ने समाज रुपान्तरणका महत्वपूर्ण अवयवको रुपमा आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । शिक्षाशास्त्र संकायमा देखिएका शैक्षिक समस्या, अभ्यास शिक्षणमा कठिनाई एवं जनशक्ति अभावका समस्या समाधान गर्न आफूहरु निरन्तर प्रयत्नशिल रहेको भन्दै संकायलाई गुणस्तरीय अनुसन्धानमुलक जर्नल प्रकाशनलाई प्राथिमकता दिन र शिक्षकहरुलाई अनुसन्धानमा प्रेरित गर्न निर्देशन दिनुभएको थियो ।
बैठमा शिक्षाशास्त्र संकायका डिन प्राडा वेदराज आचार्यले शिक्षाशास्त्र संकायको समग्र विकासका लागी आफ्नो योजनाहरु प्रस्तुत गर्नुहुँदै कार्य प्रारम्भ गरिसिकएको बताउनुभयो । उहाँले समग्र शैक्षिक गुणस्तर कायम गरी प्रश्नपत्रको स्तरियता व्यवस्थित गर्न प्रश्नपत्र निर्माण निर्देशिका तयारी समिति, परीक्षालाई मर्यादित गर्न परीक्षा संचालन निर्देशिका समिति, अभ्यास शिक्षणलाई व्यवस्थित गर्न अभ्यास शिक्षण निर्देशिका समिति र एम॰फिल र विद्यवारिधिबाट निकालिएका निष्कर्षलाई व्यवस्थित गर्न विद्यावारिधि शोधसार निर्माण समिति गठन गरी सुधारात्मक कदम अघिसारिएको जानकारी गराउनुभएको थियो ।
बैठकमा राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, शिक्षाशास्त्र संकायका निवर्तमान डीन प्राडा चित्रबहादुर बुढाथोकी, पव्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, विद्या परिषदका सदस्यहरु प्राडा नारायण प्रसाद पौड्याल, प्राडा पेशल खनाल, प्राडा नारायण प्रसाद वेलवासे, प्राडा विनोद लुईंटेल लगायतले शिक्षाशास्त्र संकायको सुधारका लागि सुझावहरु दिनुभएको थियो ।