शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को ४८ औं बार्षिकोत्सव

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को ४८ औं बार्षिकोत्सव

2025-01-15

त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)को ४८ औं बार्षिक दिवस अनुसन्धानको क्षेत्रमा गरेका महत्वपूर्ण योगदानको चर्चा गर्दै मनाइएको छ । बल्खु स्थित सेरिडको कार्यालयमा आयोजित बार्षिकोत्सव समारोहको उदघाटन गर्नुहुँदै शिक्षाध्यक्ष प्रा डा खडग केसीले विश्वविद्यालयहरु समाजको सोच,चेतना,दृष्टिकोण र चरित्र बाट अलग हुन नसक्ने धारणा व्यक्त गर्नुहुँदै विश्वविद्यालयका पदाधिकारीहरु धर्ना, आन्दोलन, बन्द र मागहरुबाट उन्मुक्त भई प्राज्ञिक  कार्यमा मात्रै समर्पित हुने अवस्था नरहेको बताउनुभयो । विश्वविद्यालयका प्राध्यापकहरु अनुसन्धान क्षेत्रमा अब्वल रहेको र विश्वका उत्कृष्ट मानिने अनुसन्धान जर्नलमा अनुसन्धानमुलक लेखहरु प्रकाशित गर्दैआइरहेको बताउनुभयो । विश्वविद्यालयका केहि सिमितता रहेको, स्रोत र साधनहरु पर्याप्त नरहेकोले भएतापनी विश्वविद्यालयमा केही भएकै छैन र विश्वविद्यालयहरु निरन्तर खस्कदै गइरहेको छ भन्ने जस्ता भाष्यहरुका पछाडी अनेकौ पूर्वाग्रह रहेको बताउनुभएको थियो । शिक्षाध्यक्षा प्राडा केसीले अनुसन्धानको लागि आवश्यक कार्यविधी निर्माण गर्ने, विद्यावारिधीको गुणस्तर अभिबृद्धी गर्ने उल्लेख गर्दै अनुसन्धान केन्द्रहरुले आवश्यक बजेटको लागि प्रस्ताव लेखन समेत नगर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

शिक्षाशास्त्र संकायका डिन प्राडा वेदराज आचार्यले शिक्षाशास्त्र संकाय र सेरिडको अन्यानोश्रित सम्वन्धरही आएकोले आगामी दिनमा सेरिडले गर्ने अनुसन्धानमा शिक्षाशास्त्र संकायले अवलम्वन गरेको ग्रेडीङ प्रणाली सम्बन्धमा, प्रश्नपत्र निर्माण, परीक्षाप्रणालीको सुधार लगायतका विषयहरुमा थप गर्ने बताउनुभयो । व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट) का कार्यकारी निर्देशक प्राडा मीना राजभण्डारीले रैथाने ज्ञान र प्रविधीको विकास र नवप्रवर्तनका लागी राज्य र विश्वविद्यालयले आवश्यक बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । माटो सुधाउदो प्रविधीको विकासका लागि विज्ञान र प्रविधीको क्षेत्रमा आवश्यक लगानी हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

शिक्षाशास्त्र संकायका पूर्वडीन प्राडा चित्रबहादुर बुढाथोकीले अनुसन्धान केन्द्रले  नवप्रवर्तन र विकासलाई जोड दिनुपर्ने, ज्ञान निर्माणको लागी अत्यावश्यक भएकोले अनुसन्धानलाई संस्थागत पहल गर्नुपर्ने, नवप्रवर्तनका लागी सकरात्मक हस्तक्षेप हुनुपर्ने, योग्यता प्रणालीलाई अर्थपूर्ण कार्यान्वयन हुनुपर्ने, जनशक्ति निर्माणको यथोचित निती हुनुपर्ने र विश्वविद्यालयमा तथ्याङ्कमा वास्तविकता र एकरुपता हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

बार्षिक दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) का पूर्व कार्यकारी निर्देशक प्राडा हृदयरत्न बज्राचार्यले विश्वमा विकासको नेतृत्व गरिरहेका मुलुकहरुको नीतिगत आधारस्तम्भका रुपमा शिक्षाक्षेत्र सँग सम्वन्धित अनुसन्धान केन्द्रहरुले प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभयो  । समाजलाई रुपान्तरणा गर्ने यन्त्रका रुपमा शिक्षा विकास तथा अनुसन्धान केन्द्रले शिक्षाको विकास सम्वन्धित विषयहरु, लगानी गर्ने सरोकारबाला, विश्वविद्यालय र दातृनिकायहरुसँग समेत मिलेर परियोजनाहरु ल्याउनुपर्ने बताउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका निर्देशक प्राडा ईश्वर कोइरालाले अनुसन्धानमा बजेट निरन्तर बृद्धि हुँदै गइरहेको र अनुसन्धान प्रतिको जागरुकता बढेको बताउनुभयो । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) का कार्यकारी निर्देशक डा राजेन्द्र कुँबरले सवैको सल्लाह र सुझावहरुलाई अनुसरण गर्दै सेरिडलाई थप व्यवस्थित र अनुसन्धानमुलक बनाउने अठोट व्यक्त गर्नुभयो । अनुसन्धानका लागी पर्याप्त बजेट, आवश्यक दक्ष जनशक्ति र उपयुक्त वातावरण निर्माणको परिस्थिति निर्माण गर्न सामुहिक प्रयत्नबाट सम्भव हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

बार्षिक दिवसको उक्त कार्यक्रममा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)का उपप्राध्यापक डा देवराज आचार्यले आर्थिक बर्ष २०८०/२०८१ मा भएका अनुसन्धान गतिविधीहरुका बारेमा जानकारी गराउनुभएको थियो । बार्षिक दिवसको अवसरमा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)मा कार्यरत उत्कृष्ट शिक्षकमा उपप्राध्यापक डा देवराज आचार्य र कर्मचारीमा मुख्यलेखा सहायक प्रमिला अधिकारी पुरस्कृत हुनुभएको थियो भने अनिवार्य अवकाश प्राप्त शाखा अधिकृत हरिकृष्ण श्रेष्ठ र निवर्तमान कार्यकारी निर्देशक प्राडा सुरेन्द्र गिरी सम्मानित हुनुभएको थियो ।