विज्ञानका शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा कार्यरत शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत एकहप्ते आवासिय तालिमको पाचौ संस्करण सम्पन्न गरेको छ । २०८१ साउन २४ देखि ३० सम्म काठमाडौंको नागढुङ्गा स्थित पातलेवन रिर्सोटमा आयोजित आवासिय तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विभिन्न केन्द्रीय विभाग र निकायहरुका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत आयोजित आवासिय तालिमको समापनसत्रलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सीले विश्वबैंकको अनुदानमा विश्वविद्यालय अनुदान आयोग मार्फत आर्थिक सहयोग उपलब्ध भएको क्षमता अभिबृद्धि कार्यक्रमलाई समयमै कार्यान्वयन गर्न विज्ञान तथा प्रविधि अध्ययन संस्थानको क्रियाशिलतालाई पं्रशसा गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धान र लेखनमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानले अनुकरणीय नेतृत्व गरिरहेको,अध्ययन÷ अध्यापनमा विश्वविद्यालयले नै गर्व गर्न लायक युवा वैज्ञानिकहरु समावेश गरेको, विश्वस्तरीय अनुसन्धानमुलक गतिविधि र अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठीहरुमा सहभागिता र सक्रियता बढाएको बताउनुभयो । अध्ययन संस्थानबाट प्रकाशित जर्नलको स्तरोन्नती गर्ने र त्यसको अन्तराष्ट्रिय पहिचान स्थापना गर्न आवश्यक सहयोग गर्ने र सवै युवा वैज्ञानिक शिक्षकहरुलाई प्रकाशित वैज्ञानिक लेख, अनुसन्धान र जर्नल त्रिवि शिक्षाध्यक्षको कार्यालयमा प्रेषित गर्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले एकहप्ताको आवासिय तालिममा सुनेका,ग्रहण गरेका,सुनाएका र प्रतिवद्धता व्यक्त गरेको कैयौ विषयहरुलाई प्राथमिकतामा राखेर यथाशिघ्र कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । कक्षाकोठालाई थप उत्साहित,नवप्रवर्तनात्मक,रचनात्मक र उद्देश्यमुखी बनाउन शिक्षकहरुले अन्तरक्रियात्मक पक्षलाई विशेष ध्यान दिनुपर्ने र आर्जित ज्ञानलाई समयसामयिक अद्यावधिक गर्न निरन्तर सिकिरहने क्षमताको विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
प्राणीशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा कुमार सापकोटाले तालिम अपेक्षाकृत भएको, सहभागि शिक्षकहरुको मिहनेत र इच्छाशक्ती उत्कृष्ट रहेको, केन्द्रीय विभागमा कार्यरत शिक्षकहरुमा आपसी आत्मियता बढाएको र कक्षाकोठालाई बहुआयामिक बनाउने विषयमा सवै गम्भिर रहेको बताउनुभयो । कार्यक्रममा सहभागि शिक्षकहरुमध्येबाट प्राणीशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा.इन्द्र सुवेदी, माइक्रोवायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक डा.मनिता अर्याल र बातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.रमेश प्रसाद सापकोटाले तालिमले सिकाईका विभिन्न पक्षहरको उजागर गरेको, महत्वपूर्ण विषयहरुका बारेमा सिक्न पाएको र कक्षाकोठाको व्यवस्थापन देखि उत्तरपुस्तिकाको परीक्षण लगायतका विषयमा उपयोगी सिप सिक्ने अवसर प्राप्त भएको धारणा व्यक्त गर्नुभएको थियो । तालिममा वनस्पतीशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा संगिताराज भण्डारी, प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा कुमार सापकोटा, भौतिकशास्त्र केन्द्रीय विभागका प्रा.डा नारायण प्रसाद अधिकारी लगायतका शिक्षकहरुले आवासिय रुपमा रहेर सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पहिलो आवासिय तालिम पूर्वका विभिन्न क्याम्पसहरुलाई समेटेर धनकुटाको भेडेटारमा, दोश्रो मकवानपुरको हेटौडामा,तेश्रो रुपन्देहीको मणिग्राम र चौथौ काठमाडौको जरसिङपौवा र पातलेवन रिर्सोटमा गरी पाँच वटा तालिम सम्पन्न गरिसकेको छ ।