त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग, एकिकृत पर्वतीय विकासका लागि अन्र्तराष्ट्रिय केन्द्र (इसिमोड) चिनमा अवस्थित चाइनिज जियोग्राफी सोसाइटी र याङटजे युनिभर्सिटीको संयुक्त आयोजनामा २०८१ साउन १४ देखि १८ सम्म ‘पर्यावरण संरक्षण, आधुनिकीकरण र हिमाली क्षेत्रको दिगो विकास’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।
विश्वका प्रभावशालि वैज्ञानिकहरुको जमघट गरी पर्यावरण संरक्षणका बहुआयामिक विषयमा वैज्ञानिक दृष्टिकोण आदान प्रदान गर्ने, अनुसन्धान गतिविधीहरुका बारेमा जानकारी गराउने, अध्ययन र अनुसन्धानमा अन्र्तराष्ट्रिय सहयोग र सहकार्य बढाउने उद्देश्यले आयोजित सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले “नेपालमा बन विनासका कारण समुदायको जीविकामा पारेको प्रभाव“ शीर्षकमा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गण्डकी क्षेत्रका विभिन्न जिल्लाहरुमा गरिएको वैज्ञानिक अनुसन्धानमा आधारित उक्त अनुसन्धानमा बनविनासका आर्थिक,सामाजिक एवम् पर्यावरणीय प्रभावहरुलाई उजागर गर्नुभएको थियो । चीनको जियोग्राफी सोसाइटीका अध्यक्ष प्रा. फाहु चेनले “एसियाली क्षेत्रमा बढेको तापक्रम र वर्षामा दशकीय भिन्नता ढाँचा र क्षेत्रीय अभिव्यक्ति“ शीर्षकमा जियोग्राफी सोइसाइटीले गरेको विभिन्न भौगोलिक अनुसन्धानका बारेमा विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
चाइनिज ऐकेडेमी अफ साइन्सेस इन्सिच्युट अफ माउन्टेन हर्जाड एण्ड इन्भाइरोमेन्टका अनुन्धानकर्मी प्रा.डा निङशेंग चेनले ले “हिमाली क्षेत्रमा अप्रत्याशित रुपमा आउने विपदहरूको वैज्ञानिक अवयव’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुहुँदै हिमाली विपदहरूको कारणहरू र सम्भावित न्यूनीकरणको समग्र रणनीतिहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
एकिकृत पर्वतीय विकासका लागि अन्र्तराष्ट्रिय केन्द्र (इसिमोड)मा कार्यरत अरुणभक्त श्रेष्ठले “परिवर्तनशील जोखिम वातावरणः सीमा–पार सूचना आदानप्रदानको आवश्यकता“ शीर्षकको कार्यपत्र मार्फत दुई देशविचमा सिमाना मा हुने वातावरणीय जोखिमको न्यूनिकरणको लागि वैज्ञानिक सूचनाहरुको साझेदारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उक्त अन्तराष्ट्रिय सम्मेलनमा त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रिय विभागका विभागीय प्रमुख प्रा.डा उमेश कुमार मण्डलले सम्मेलनको उद्देश्य,विषयवस्तु,रणनीतिक योजनाहरुका बारेमा जानकारी गराउनुहुँदै हिमाली क्षेत्रहरूमा दिगो अभ्यासहरूको आवश्यकतालाई जोड दिनुभएको थियो । उहाँले भूगोल केन्द्रीय विभागले विश्वका महत्वपूर्ण विश्विद्यालयहरुसँगको सहकार्यमा भुगोल,पर्यावरण लगायतका विषयहरुमा निरन्तर अध्ययन र अनुसन्धान गरिरहेको बताउनुभएको थियो । एकिकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र(इसिमोड)का आर्थिक तथा प्रशासन निर्देशक शेखर घिमिरेले पनि पर्यावरणीय चुनौतीहरूको सामना गर्न आवश्यक सहयोगात्मक प्रयासहरूको महत्वलाई जोड दिनुभएको थियो । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक र नीतिनिर्माताहरूले हिमाली क्षेत्रहरूको दिगो विकास र संरक्षणको रणनीतिहरू बारे छलफल गरेका थिए । सम्मेलनमा चीन, बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानका गर १२० जना वैज्ञानिकहरु सहभागी भएका थिए ।