शिक्षाका शिक्षकहरुलाई व्यवसायिक क्षमता अभिबृद्धि तालिम ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आङ्गगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा कार्यरत शिक्षकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।
उच्चशिक्षाको श्रम बजारमा सान्र्दभिकता र गुणस्तको सवलीकरणमा आधारित अनुसान्धान मार्फत नवप्रवर्तनको बढावा र उच्चशिक्षामा समतामुलक पहुँचको विस्तार गर्ने उद्देश्यले २०८१ असार २२ देखि २८ सम्म काठमाडौं स्थित होटल मोनालिसा मा अयाोजित ७ दिने आवासिय तालिममा शिक्षाशास्त्र अध्यापन हुने त्रिविका आङ्गगिक क्याम्पसका २५ र गुणस्तर प्रत्यायन प्राप्त सम्बन्धन प्राप्त क्याम्पसका ५ जना गरी ३० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शिक्षकहरुको तालिम मुलुकको भविष्य निर्माण सँग सम्वन्धित भएकोले बालविकास कक्षा देखि उच्चशिक्षा सम्म अध्यापन गर्ने सबै तहका शिक्षकहरु गुणस्तर, क्षमतावान,सिपमुुलक र उच्चनैतिक भएको हुनुपर्ने र शिक्षकहरु निरन्तर परिमार्जित र परिस्कृत भई सरल,व्यवहारिक र रचनात्मक ढंगले विभिन्न क्रियाकलाप मार्फत कक्षाकोठामा विद्यार्थीहरुसँग जोडिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उपकुलपति प्रा.डा बरालले प्रविधिको उच्चतम प्रयोगमार्फत विद्यार्थीहरुको सिजनात्मक क्षमता विस्तार गर्न,सञ्चार क्षमताको विकास गर्न र आलोचनात्मक पक्षलाई बढावा दिन अनुरोध गर्नुभयो । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको सिकाईलाई सान्र्दभिक,व्यवहारिक र उपयोगी बनाउन सबै अध्ययन संस्थान तथा संकायका शिक्षकहरुलाई शिक्षण सिकाई सम्वन्धित तालिम दिने योजना निर्माण गर्ने, शिक्षाशास्त्र संकायललाई पुनःअभिमुखिकरण गरी उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षण पेशा आकर्षण गर्ने र । स्कुल अफ पेडागोजी एण्ड ह्युमन रिर्सोसेस म्यानेमन्टको अवधारण निर्माण गरेको जानकारी गराउनु भएको थियो । तालिम मार्फत शिक्षण सिकाईका सम्वन्धमा उपयोगी सिप सिक्ने र आफुलाई अभ्यस्त बनाउन महत्वपूर्ण अवसरको रुपमा ग्रहणगरी अत्यधिक लाभ लिन सहभागिहरुलाई आग्रह गर्नुभएको थियो ।
तालिममा शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा चित्रबहादुर बुढाथोकीले शिक्षकहरुलाई तालिम दिने परम्परा कमजोर रहेको, व्यवासयिक तालिमको अभावमा शिक्षकहरुले कक्षाकोठामा प्रभावकारी सिकाई गर्न नसकेको बताउनुभयो । शिक्षक बन्न पनि अन्यपेशामा जस्तै विभिन्न चरणका परिक्षामा उत्तिर्ण हुनुपर्ने, विद्यार्थीहरुलाई सिकाउन सक्ने केहि विशिष्टगुण हरु हुुनुुपर्ने,शिक्षक पेशालाई जागिरको रुपमा मात्र नलिई व्यवसायिक हुनुपर्ने,गुणस्तरीय शिक्षक बनाउन सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । तालिमको उद्घाटन कार्यक्रममा शिक्षाशास्त्र सङ्कायका सहायक डीन प्रा.डा शोभाखर कडेलले स्वागत मन्तव्य मार्फत तालिमको उद्देश्य र अपेक्षाका बारेमा जानकारी गराउनुभएको थियो भने सहायक डीन डा. विष्णु खनालले उद्घाटन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।