त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसको ७० औं बार्षिकदिवस सम्पन्न । 

त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसको ७० औं बार्षिकदिवस सम्पन्न । 

2024-07-01


त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसको ७० औं बार्षिकदिवस समारोह विभिन्न शैक्षिक,प्रशासनिक एवम् रचनात्मक कार्यक्रमहरु गरी सम्पन्न गरिएको छ । २०११ साल असार १७ गते स्थापना भएको नेपाल ल क्याम्पस कानुनी शिक्षा प्रदान गर्ने मुलुककै पहिलो शैक्षिक संस्था रहेको छ ।  स्काई दरवार पार्टीप्यालेस,सिंहदरवारगेट मा २०८१ असार १७ गते आयोजित ७० औं बार्षिक दिवसको उद्घाटन त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सीले गर्नुभयो । 
बार्षिक दिवस समारोहलाई सम्बोधन गर्नुुहुँदै शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सी ले कानुनी शिक्षाको मातृसंस्थाको रुपमा परिचित नेपाल ल क्याम्पस नेपालीहरुका लागि अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरु जत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । देशको न्यायक्षेत्रको बलियो जग बसाल्ने कार्यमा नेपाल ल क्याम्पसले महत्वपूर्ण दायित्व बहन गरेको भन्दै हालसम्मका देशका विभिन्न प्रधानन्यायाधिस देखि स्थानिय सरकारको न्यायिक अंगमा समेत क्याम्पसबाट उत्तिर्ण विद्यार्थीहरुले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गर्नुभयो  । नेपाल ल क्याम्पसमा संलग्न सम्पूर्ण शिक्षकहरुलाई अनुसन्धानमा सक्रिय हुने अनुरोध गनहुँदै अनुसन्धानमुलक लेख र जर्नल प्रकाशनमा क्याम्पसले उल्लेखनिय उपलब्धी हासिल गर्नु पर्ने चुनौति रहेको र  डवल स्टार जर्नलहरु प्रकाशित गर्न र  सिमागो जर्नलमा लेखहरु प्रकाशित गर्न अनुरोध गर्नुभएको थियो । ‘प्राध्यापकमा प्रतिस्पर्धी हुन अनुसन्धान गर्नुहोस अदालतमात्रै धाएर प्राध्यापक भइदैन’ भन्दै उहाँले आगामी बर्षदेखि सम्पूर्ण क्याम्पसहरुको शिक्षकहरुको प्राज्ञिक परीक्षण गर्ने, संस्थागत परिक्षण गर्ने, शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने, दलिय भागवण्डाको अन्त्य गर्ने, योग्यताप्रणाली अवलम्वन गर्ने, परिक्षा र नजिता प्रकाशन समयमै सम्पन्न गर्ने, विद्यार्थीहरुको गुनासो सुन्ने सयन्त्रको बारेमा निर्णय भइसकेकोले त्यसलाई प्रभावकारी बनाउने बताउनुभयो । शिक्षाध्यक्ष प्रा.डा के.सी ले नेपाल ल क्याम्पसमा शैक्षिक एवम् प्रशासनिक वातावरण निर्माणमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)ले खेलेकोे रचनात्मक भूमिकाको समेत प्रशंसा गर्नुभएको थियो । 
उक्त बार्षिकोत्सवको अवसरमा नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) ले प्रभातफेरीको आयोजना गरेको थियो । बार्षिक दिवसको अवसरमा क्याम्पसले विद्यार्थीमा कानुनी ज्ञानको दायरा बढाउन मूटकोट प्रतियोगिता, ल क्विज,अदालति बहस प्रतियोगिता, सांस्कृतिक प्रर्दशनी मौलिक नृत्य  लगायतका कार्यक्रमहरु सम्पन्न गरी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । कार्यक्रममा कानुन संकायका डीन डा.कृष्णप्रसाद बस्यालले कानुनी शिक्षामा सवैको आर्कषण बढिरहेको भन्दै कानुनी शिक्षाको गुणस्तरका लागि  संस्थागत काम भइरहेको बताउनुभयो । उहाँले नेपाल ल क्याम्पस मुलुकको लागि कानुनी धरोहरको रुपमा  रहेको भन्दै क्याम्पसको भौतिक,शैक्षिक एवम् प्रशासनिक पक्षका थप कामहरु गर्दै जाने बताउनुभएको थियो । कार्यक्रममा नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले कानुनी शिक्षामा बढेको आकर्षण र चेतनाले मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको थियो । कार्यक्रममा नेपाल ल क्याम्पस व्यवस्थापन समितिका सदस्य डा.भेषराज अधिकारी, नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, विद्यार्थीहरुका तर्फवाट स्ववियु सभापति विष्णु ढुंगेल , स्ववियु सचिव मनोज सिंह लगायतका विभिन्न विद्यार्थी संगठनहरुका प्रतिनिधीहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।