त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरुमा अतिरिक्त कक्षा लिएबापतको पारश्रमिक भूक्तानी गर्दा नियम नभएको भनी लेखापरीक्षणबाट केही समस्याहरुमा बेरुजू औंल्याएको सन्र्दभमा अतिरिक्त कक्षा लिएको समय तोकिए अनुसार भए नभएको, वर्कलोडको आधारमा अतिरिक्त कक्षा भए नभएको, सम्बन्धित क्याम्पसले मास्टर रुटिन बनाई कक्षा सञ्चालन गरे नगरेको, भुक्तानी गर्दा समय पुगे नपुगेको समेत अध्ययन गरी यथार्थ विवरण र सुधारसहितको प्रतिवेदन पेश गर्न त्रिवि कार्यकारी परिषद्को मिति २०८१।०२।१३ मा प्रा.डा हेमराज सुवेदीको संयोजकत्वमा गठित समितिले त्रिविका पदाधिकारीहरु समक्ष २०८१।०३।१२ मा प्रतिवेदन पेश गरेको छ । समितिका सदस्यहरुमा कानुन संकायका पूर्व डीन प्रा.डा विजय सिंह सिजापति, अनुगमन निर्देशनालयका सहप्राध्यापक विष्णुप्रसाद वाग्ले र लेखापरीक्षण महाशाखका आर्थिक उपनियन्त्रक बलबहादुर थापा रहनुभएको छ । उपकुलपतिको कार्यालय कीर्तिपुरमा अयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले प्रतिवेदनको विस्तृत अध्ययन कार्यान्वयन गरी गर्ने बताउनुभएको थियो । कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सी र रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालको उपस्थिति रहेको थियो ।