त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अधययन संस्थान विद्यापरिषद्को ३४ औं पूर्णबैठक सम्पन्न भएको छ ।
त्रिभुवन स्मृति भवनमा आयोजित पूर्णबैठकमा २०७९ असोज ५ देखि २०८१ जेठ २ गतेसम्म विद्यापरिषद्को स्थायी समितिले पारित गरेका १२१ बटा प्रस्ताव तथा निर्णयहरु अनुमोदन भएका छन् । विद्यापरिषद्को पूर्ण बैठकमा प्रस्तावित एजेण्डाहरुमा पाठ्यक्रम तथा ट्रान्सक्रिप्ट सम्वन्धी २५ वटा प्रस्ताव तथा निर्णयहरु, मूल्यांकन तथा प्रवेश परीक्षाको योग्यता सम्बन्धी ८ वटा प्रस्ताव तथा निर्णयहरु, क्याम्पस नवीकरण तथा विषयकोटा थप सम्वन्धी २२ वटा प्रस्ताव तथा निर्णयहरु, परीक्षा सम्वन्धी १२ बटा प्रस्ताव तथा निर्णयहरु , शिक्षकहरुको क्षमता अभिबृद्धि सम्वन्धमा ११ वटा प्रस्ताव तथा निर्णयहरु र केन्द्रीय एकिकृत प्रयोगशाला स्थापना सम्वन्धी २ बटा प्रस्ताव तथा निर्णयहरु र ४१ बटा अन्य विभिन्न प्रस्ताव तथा निर्णयहरु अनुमोदन भएका छन् ।
३४ औं विद्यापरिषद्को उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले विज्ञान तथा प्रविधि अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयको गौरवपूर्ण अध्ययन संस्थान रहेको र देशलाई आवश्यक पर्ने बैज्ञानिक र दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण उपलब्धी आर्जन गर्न सफल भएको बताउनु भएको थियो । उपयुक्त डीनहरुको नेतृत्वमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान थप प्रभावकारी र सृदृढ बनिरहेको र नवप्रवर्तनलाई बढावा दिइरहेको धारणा व्यक्त गर्नुहुँदै विज्ञान तथा प्रविधि अध्ययन संस्थानका समग्र विकासका लागी आफूहरु प्रयत्नशिल रहन बताउनुभयोे । बैठकमा उहाँले विद्यावारिधिका कार्यक्रमलाई थप गुणस्तरीय बनाउन र स्नातक तहको पाठ्यक्रमलाई सुधार गरी प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गर्नुभएको थियो । विज्ञान तथा प्रविधि अध्ययन संस्थानकै नेतृत्वमा केन्द्रीय विज्ञान प्रयोगशाला निर्माण हुन लागिरहेको उल्लेख गर्नुहुँदै रजिष्ट्रार प्रा.डा रिजालले भौतिक पूर्वधारको विकास र विषयगत विज्ञापन मार्फत विश्वविद्यालयमा दीर्घकालिन प्रभावका कार्यहरु गर्ने दृष्टिकोण व्यक्त गर्नुभएको थियो ।
बैठकमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा बिनिल अर्यालले विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा भएका उपलब्धीहरु प्रस्तुत गर्नुहुँदै एकबर्षमा करिव १ हजार अनुसन्धानात्मक कृतिहरु प्रकाशित भएका, ६० प्रतिशत अनुसन्धान कृतिहरु सिमागो जर्नलमा प्रकाशित भएका, ३० करोड आर्थिक क्षमताका करिव ५४ बटा अन्तराष्ट्रिय परियोजनाहरु सञ्चालनमा रहेका ४१ वटा अन्तराष्ट्रिय सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको, नेचर जर्नल इन्डेक्समा ८६औं स्थानमा हासिल गर्न सफल भएको, स्नातक तहको ८६ औसत दिन र स्नातकोत्तर तहको ४७ औसत दिनहरुमा परीक्षाका नजिताहरु प्रकाशित गरिएको, केन्द्रीय विज्ञान प्रयोगशालाका लागि ४० करोडको बजेट प्राप्त भएको साथै नियमितरुपमा शिक्षकहरुलाई तालिम उपलब्ध गराइएको र छात्रवृत्तिलाई व्यवस्थित गरिएको बताउनुभएको थियो । उहाँँले विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत हाल २९ हजार विद्यार्थी, ९५० शिक्षक र ३४० कर्मचारी आवद्ध रहेको जानकारी गराउनुभएको थियो ।
बैठकमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन प्रा.डा महेन्द्र महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने बैठकको सञ्चालन सहायक डीन डा.सुरेन्द्र गौतमले गर्नुभएको थियो । बैठकमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानक अन्तर्गतका १३ बटा विभिन्न केन्द्रीय विभागका विभागीय प्रमुखहरु, आंगिक क्याम्पसबाट छनोट हुनुभएको ५ जना विज्ञानका प्राध्यापकहरु, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, परिक्षा नियन्त्रक, सम्वन्धन प्राप्त क्याम्पसका २ जना क्याम्पसप्रमुखहरु साथै विज्ञान तथा प्रविधि मन्त्रालय, विज्ञान तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।