त्रिवि उपकुलपतिद्वारा लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस तथा परीक्षा कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण

त्रिवि उपकुलपतिद्वारा लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस तथा परीक्षा कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण

2024-06-16

त्रिवि उपकुलपतिद्वारा लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस तथा परीक्षा कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले त्रिविका आङ्गिक क्याम्पस तथा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको वस्तुस्थिति बुझ्न जेठ २७ देखि २९ गतेसम्म लुम्बिनीप्रदेशका आठवटा क्याम्पस र एउटा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो ।

उपकुलपति प्रा.डा बरालले जेठ २७ मा बाँकेको कोहलपुर स्थित त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको थियो । क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालय, कोहलपुरका सहनियन्त्रक सुमन गौतमले उपकुलपति समक्ष केही महिनामै निर्माणाधिन भवन सम्पन्न हुने जानकारी गराउनुभएको थियो । उहाँले भवन निर्माणपछि कार्यालयको काम सहज र सुरक्षित हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

लुम्विनी प्रदेशका सवै क्याम्पस तथा निकायहरुको भ्रमणमा रहनुभएका उपकुलपतिले २०२६ सालमा स्थापित नेपालगञ्ज नर्सिङ क्याम्पसको पनि भ्रमण गर्नुभएको थियो । भ्रमणको क्रममा नर्सिङ शिक्षामा ठूलो योगदान पु¥याउने गौरवशाली इतिहास बोकेको यस क्याम्पसमा पुराना भवनको मर्मत सम्भार र मानवश्रोतको व्यवस्था लगायतका चुनौतीका बारेमा क्याम्पसका सरोकार पक्षमहरुसँग छलफल गर्नुभएको थियो । नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको भ्रमणको क्रममा उपकुलपति प्रा.डा बरालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलाई डिग्री उपाधि हासिल गर्न सक्षम आङ्गिक क्याम्पसको रुपमा विकास गर्ने आफ्नो योजना रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले क्याम्पस प्रमुख लालमणि आचार्य मार्फत क्याम्पसको भौतिक, शैक्षिक र प्रशासनिक अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

उपकुलपति बरालले दाङको घोराहीस्थित प्रस्तावित इञ्जिनियरिङ अध्ययन संस्थान, घोराही क्याम्पसको करीब पाँच विघा क्षेत्रफलमा निर्माणधिन भौतिक संरचनाको अवलोकन गरी भवन निर्माण लगायत कार्यहरुको प्रगतिका बारेमा आयोजना निर्देशक रामप्रसाद पौडेलबाट जानकारी लिनुभएको थियो । घोराहमै अवस्थित महेन्द्र बहुमुखी क्याम्पस दाङको बारेमा क्याम्पस प्रमुख भरतराज न्यौपाने मार्फत जानकारी लिई क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने, भौतिक तथा मानविय स्रोत र साधनको अधिकतम सदुपयोग गर्ने विषयमा अन्तरक्रिया गर्नुभएको थियो । लुम्बिनी प्रदेशको बुटवल अवस्थित वुटवल बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गरी उपकुलपति प्रा.डा केशरगंज बरालले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको स्थापना, शिक्षक/कर्मचारीहरुको विज्ञापन तथा पदोन्नती, सूचना प्रविधिको प्रयोग, विभिन्न विषयको पाठ्यक्रम परिमार्जन र आंशिक शिक्षकहरुको दिर्घकालिन व्यवस्थापन लगायतका विषयमा शिक्षक, कर्मचरी र विद्यार्थीहरु समक्ष अन्तरक्रिया गर्नुभएको थियो । उपकुलपति प्रा.डा बरालले जेठ २९ गते पाल्पास्थित त्रिभुवन बहमुुखी क्याम्पसमा उपस्थित भईको शैक्षिक तथा प्रशासनिक अवस्थाको बारेमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई मार्फत जानकारी लिनुभएको थियो । उपकुलपति बरालले सोहीदिन भैरहवा बहुमुखी क्याम्पस भैरहवाको भ्रमण गरी क्याम्पस प्रमुख अनिलकुमार झा मार्फत क्याम्पसको जानकारी लिनुभएको हो । क्याम्पस प्रमुख झाले छोटो समयमा विद्यार्र्थी सङ्ख्या र भौतिक संरचनामा उल्लेख्य बृद्धिगर्न सफल भएको उपकुलपतिलाई जानकारी गराउनुभएको थियो । भैरहवामै अवस्थिति कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गतको पक्लिहवा कृषि क्याम्पसमाको बारेमा क्याम्पसप्रमुख रामभजन मण्डल मार्फत जानकारी लिनुभएको थियो । उपकुलपति बरालले पक्लिहवा क्याम्पसको जग्गाको समुचित प्रयोग गरी क्याम्पसको आयआर्जन बढाउन समेत अनुरोध गर्नुभएको छ ।