त्रिवि केन्द्रीय पुस्तकालयमा फोटो प्रर्दशनी 

त्रिवि केन्द्रीय पुस्तकालयमा फोटो प्रर्दशनी 

2024-04-01

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनमा २ दिने फोटो प्रर्दशनी राखिएको छ । रसुवा जिल्ला स्थित लाङटाङ क्षेत्रमा आयोजित विभिन्न अनुसन्धान परियोजना संचालनका क्रममा विगत लामोसमयदेखि क्रियाशिल अनुसन्धाकर्मीहरुले कैद गरेका एक सयवटा तस्विरहरु प्रदर्शनीमा राखिएका छन् । 
अनुसन्धान क्षेत्रको पर्यावरणीय अवस्था, जैविक विविधता, सामाजिक÷सांस्कृतिक वस्तुस्थिति, आर्थिक र भौगोलिक परिवेशलाई प्रतिविम्वित गर्ने तस्विरहरु युनिभर्सिटी अफ बासिङटनका प्रा.डा रेन्डन सी काइज,पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा कार्यरत डा. नारायण प्रसाद कोजु र फोटो पत्रकार बालकृष्ण बनमालाले उक्त तस्विरहरु संकलन गरी प्रदर्शनीमा ल्याउनुभएको हो । फोटो प्रर्दशनी २०८० चैत १९ देखि २० सम्म रहने छ । 
फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा भार्गव धितालले तस्विरहरुले जीवन्त सूचनाहरु उपलब्ध गराउने क्षमता राख्ने भएकाले लाङटाङ  क्षेत्रको वास्तविकता दर्शाउने सुन्दर तस्वीरहरु सवै अनुन्धानकर्मी एवम् अन्वेषणहरुका लागि अर्थपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा २२ बर्षदेखि लाङटाङक्षेत्रको अनुसन्धानमा क्रियाशिल युनिभर्सिटी अफ बासिङटनका प्रा.डा रेन्डन सी काइजले लाङटाङ क्षेत्रसँग सम्वन्धित आफ्ना अनुसन्धान र प्रकाशित कृतिहरुले नेपालको प्राकृतिक विविधतालाई समेटेको बताउनुभयो । उहाँले नेपालसँगको अनुसन्धान र अध्ययनलाई जीवनपर्यन्त अघि वढाइरहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ संरक्षणविद् प्रा.डा मुकेश चालिसे,पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. लीला न्याईच्याई, प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मण खनाल, डा.नारायणप्रसाद कोजु र त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।