स्टार्फ नर्सहरुको सेवाकालिन तालिम समापन । 

स्टार्फ नर्सहरुको सेवाकालिन तालिम समापन । 

2024-02-28


त्रिभुवन विश्वविद्यालयु(त्रिवि) समन्वय महाशाखाको आयोजनामा मिति २०८० फागुन ८ देखि सञ्चालन गरिएको स्टार्फ नर्सहरुको सेवाकालिन तालिमको समापन भएको छ । सेवाकालिन तालिममा शिक्षण अस्पतालमा कार्यरत ३२ जना, मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत ८ र बीपी कोइराला नेत्र अध्ययन केन्द्रमा कार्यरत १ सहित ४१ स्थायी स्टार्फ नर्सहरुको सहभागिता रहेको थियो । ८ दिनसम्म सञ्चालित उक्त तालिममा प्रशासनिक,नैतिक, व्यवसायिक, प्राविधिक पक्षकहरुका बारेमा अनुभवी विज्ञहरुले तालिम दिनुभएको थियो । 
 त्रिविका उपकुलपति प्रा.डा केशरजङ्ग बरालको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा उपकुलपति प्रा.डा बरालले स्टार्फनर्सहरुको समयानुकुल स्तरोन्नती गर्नुपर्ने, जनशक्ति पलायन हुने अवस्था रोक्नुपर्ने, एउटै पदमा लामोसमय सम्म रहिरहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने,त्रिवि सेवा अयोगमार्फत ६÷६ महिनामा विज्ञापन हुने अवस्थाको निर्माण गर्नुपर्ने,संस्थागत भावनको विकास गर्नुपर्ने र आफ्ना दक्ष जनशक्तिलाई नियमित तालिमको माध्यामवाट अद्यवधिक गरिरहनुपर्ने बताउनुभएको थियो । विरामीहरुको जिवनसँग प्रत्यक्ष सरोेकार राख्ने जिम्मेवार पेशा भएकोले स्टार्फहरुमा सबैभन्दा वढि व्यवसायिकता,उच्च नैतिकता, हार्दिकता र सकरात्मकता हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।  
तालिमको समापनमा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै चिकित्साशास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा दिव्यासिंह शाहले नवनियुुक्त उपकुलति प्रा.डा केशरजङ्ग बराललाई बधाई तथा शुभकामना व्यक्त गर्दै त्रिविको समग्र विकासमा महत्वपूर्ण योगदानको अपेक्षा व्यक्त गर्नुभएको थियो । विश्वविद्यालयमा सवैको सहयोग र समन्वय मार्फत प्राज्ञिक उन्नयनको नीति लिई अघि वढन सुझाव दिनुभएको थियो । 
कार्यक्रममा त्रिवि शिक्षण अस्पालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्ले शिक्षण अस्पतालमा कार्यरत स्टार्फ नर्स लगायतका प्राविधि कर्मचारीहरुले समयमै स्थायी र पदोन्नती हुने अवसर नपाएर  निरुत्साहित भएको, अस्पतालको सेवा विस्तारसँगै पर्याप्त दरवन्दीको अभाव रहेको,प्रशासनिक प्रक्रियाका कारण कर्मचारी व्यवस्थापनमा निकै जटिलता भएको बताउँदै आधारभुततहमा गर्ने कार्यसम्पादनमा कार्यकारी निर्देशकलाई जिम्मेवारी दिन समेत अनुरोध गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरु मध्ये उत्कृष्ट स्टार्फ नर्सको रुपमा सीता देवकोटा पुरस्कृत हुनुभएको छ । समापन कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका नर्सिङ्ग प्रमुख कल्पना पियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो त्रिवि समन्वय महाशाखाका निमित्त प्रमुख दीपक तिवारीले तालिममा सहभागी स्टार्फ नर्सहरुको प्रभावकारिता कार्यसम्पादन मार्फत मूल्यांकन हुने बताउनुभयो । उहाँले तालिममार्फत सिकेका विषयवस्तुहरुलाई अधिकतम कार्यान्वयनमा ल्याउन समेत सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 
तालिममा सहभागीको तर्फवाट संक्षिप्त धारणा राख्नुहुँदै स्टार्फ नर्स गीता श्रेष्ठले तालिम मार्फत नयाँ ज्ञान सिक्न पाएको, विज्ञहरुको अनुभव र दृष्टिकोणवाट मनोवल उच्च भएको र आफुहरुले नयाँ प्राविधिक पक्षहरुका बारेमा समेत जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रममा त्रिवि आर्थिक प्रशासन माशाखा प्रमुख कुमारप्रसाद हुमागाई, त्रिवि सभा तथा कार्यकारी परिषदका प्रमुख बैकुण्ठ थपलिया, सामान्य प्रशासन प्रमुख राजुकुमार श्रेष्ठ, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहाल, कर्मचरी प्रशासन प्रमुख भिम बहादुर श्रेष्ठ, उपकुलपति कार्यालयका प्रमुख निर्मल मिश्र,रजिष्टार कार्यालयका प्रमुख नविन्द्र प्रसाद भण्डारी,त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्र बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।