त्रिभुवन विश्वविद्यालय पत्रकारीता तथा आमसञ्चार केन्द्रीय भवनको कीर्तिपुर स्थित नवनिर्मित भवनको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको छ । २०७६ माघ १ गते सम्झतौ भई माघ २२ गते तत्कालिन अर्थमन्त्री युवाराज खतिवडाले शिलान्यास गरेपश्चात निर्माण कार्य थालिएको उक्त भवन २१ करोड ५५ लाख ९५ हजार ५ सय ७३ रुपैया लागतमा निर्माण भएको हो । क्यामेरा आकारको ५ तले उक्त भवनको निर्माणको जिम्मेवारी भ्याली बाबुरत्न जेभीले प्राप्त गरेको थियो भने डिजाइन त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत रहेको कन्सलटेन्सी सेवाले गरेको हो । सरस्वतीपुजाको अवसरमा आयोजित भवन उद्घाटन कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले रत्नराज्य लक्ष्मी क्याम्पसको परिसरको सिमित परिधिमा अत्यन्तै कठिनाईका साथ सञ्चालन भइरहेकोे पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभाग अत्याधुनिक भवनमा सरे लगत्तै आगामदिनमा थप विस्तारीत भई पत्रकारिता अध्ययनको बहुआयामिक चुनौती सामना गर्दै थप गुणस्तरीय बन्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । सुविधासम्पन्न भवनमा प्रविधिलाई अधिकतम उपयोगी गरी प्राज्ञिक उत्कृष्टताको केन्द्र बन्ने अबसर विभागलाई प्राप्त भएको धारणा व्यक्त गर्दै विभागका परिवारलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.चिरञ्जिवी खनालले २०३३ सालदेखि पत्रकारिता शिक्षाको प्रारम्भ भई पत्रकारिता विषयलाई विस्तार गरी गुणस्तरीय बनाउन अथक प्रयास हुँदै आइरहेकोमा पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवन निर्माण पनि पत्रकारीता क्षेत्रको विकास र विस्तारको एउटा महत्वपूर्ण अध्याय रहेको बताउनुभयो । नवनिर्मित भवन निर्माणमा क्रममा स्रोतको व्यवस्थापन देखि विभिन्न चरणमा हुने प्रशासनिक निर्णयका कठिनाईहरुको अनुभवहरुको संक्षिप्त चर्चा गर्नुहुँदै उहाँले विभागको लामोसमयदेखिको सपना साकार भएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको थियो । भवन निर्माणमा प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्नुहुने नेपाल सरकार, त्रिवि पदाधिकारी, विभागका प्राज्ञहरु,प्रशासनिक कर्मचारीहरु प्रति आभार व्यक्तगर्नुहँदै उहाँले पत्रकारीता शिक्षाको गुणस्तर अभिवृद्धि मार्फत व्याप्त चुनौतीको सामना गर्दै उत्कृष्ट सञ्चारकर्मी निर्माणमा केन्द्रीत हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान कन्सलटेन्सी सेवाका प्रमुख इन्जिनियर नारायण प्रसाद गौतमले विभागको नवनिर्मित भवनको डिजाइन र भवन निर्माणका प्राविधिक पक्षका वारेमा जानकारी गराउँदै त्रिवि भित्रकै गौरवको आयोजनाको रुपमा भवन निर्माण गरिएको बताउनुभयो । २०७५ फागुन १५ मा सम्झौता भई ६ महिनामा भवनको डिजाइन तयार गरिएको र भवनको वनोटमा पत्रकारीताको अभाष हुनेगरी डिजाइन गरिएको बताउनुभयो । भवनको मुख्य डिजाइनरको रुपमा विमला तुलाधर रहनुभएको थियो । उक्त अवसरमा पत्रकारीता तथा विभागले प्राध्यापक प्रवलराज पोखरेल,सहप्राध्यापक बद्रीप्रसाद पौड्याल, सहप्राध्यापक डा. कुन्दन अर्याल, भवन निर्माण समितिका संयोजक उपप्राध्यापक डा. देवराज अर्याल,उपप्राध्यापक शशीनाथ मरासिनी,लेखा अधिकृत प्रमिला बज्राचार्य र कार्यालय सहायक एकराज कडेललाई सम्मान गरिएको थियो । सरस्वती पुजाको अवसरमा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न सञ्चारप्रतिष्ठानका प्रमुखहरु, वरिष्ठ पत्रकारहरु,केन्द्रीय विभागका विभागीय प्रमुखहरु, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक र महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक घमराज लुइटेलले गर्नुभएको थियो ।