कलेजो प्रत्यारोपणमा शिक्षण अस्पतालको ऐतिहासिक उपलब्धी
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नै विज्ञता र अनुभवबाट देशमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफलता प्राप्त गरेको छ । कलेजो प्रत्यारोपणमा आफ्नै टिमका संलग्नतामा उक्त ऐतिहासिक उपलब्धी प्राप्त भएको हो । अस्पतालले उक्त सफलता प्राप्त गर्न सफल चिकित्सक सहप्राध्यापक डा.रमेशसिंह भण्डारी र उहाँको टिमलाई सम्मान गरेको छ ।
२०७५ बाट आरम्भ भएको कलेज प्रत्यारोपण सेवा अन्र्तगत त्रिवि शिक्षण अस्पतालले हालसम्म ११ वटा कलेजो प्रत्यारोपण गरिसकेको छ विदेशी विज्ञ चिकित्सकहरुको सहयोगमा नेपालमा कलेजोप्रत्यारोपण हुँदै आएतापनि नेपाली चिकित्सकहरुको मात्रै संलग्नतामा २०८० पुस २७ गते पहिलोपटक सफल शल्यक्रिया भएको हो । त्रिवि शिक्षण अस्पतालमा अयोजित सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाहले आफ्नै टिम मार्फत सफल कलेजो प्रत्यारोपण सँगै शिक्षण अस्पतालले देश÷विदेशबाट महत्वपूर्ण विश्वास आर्जन गर्न सफल भएको बताउनुभयो । सफल कलेजोप्रत्यारोपण मार्फत आर्जित उत्साह र प्रेरणाबाट निरन्तर अघि वढनु अस्पताललाई सुझाव दिनुभएको थियो ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्लेले पूर्वाधार,आर्थिक स्रोत, विभिन्न कानुनी एवम् प्राविधिक कठिनाईका बावजुत डा.रमेशसिंह भण्डारीको अत्यन्तै ठुलो मिहनेत र अठोटकै कारण उक्त सफलता प्राप्त भएको बताउनुभयो । त्रिवि शिक्षण अस्पतालमा नेपालका सर्वोकृष्ट चिकित्सकहरु सेवारत रहेको र सवै विभागहरुले यस्तै अनुकरणीय कार्य मार्फत आफुलाई थप विस्तारित गर्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सहप्राध्यापक डा.रमेशसिंह भणडरीले त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको प्रारम्भिक चुनौती,आफ्नो अनुभव र तालिम साथै नेपालमा कलेजो प्रत्यारोपणको आरम्भ गर्दा आफ्ना अनुभवहरुलाई संक्षिप्त प्रस्तुत गर्नुभएको थियो । हाल विश्वमै जटिल र महंगो मानिने कलेजो प्रत्यारोपणमा ३० देखि ३५ लाखसम्म खर्च हुने भन्दै उहाँले सवैको पहलबाट उक्त खर्चलाई न्यूनिकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । लामो समयदेखि कलेजो प्रत्यारोपणमा संलग्न डा.भण्डारीले व्यक्तिगतरुपमा समेत अनेकौ प्रयत्नहरु गरी उक्त प्रत्यारोपण सम्भव तुल्याउनुभएको हो । नेपाली चिकित्सकहरुको मात्रै संलग्नतामा भएको सफल शल्यक्रियामा डा. भण्डारीसँगै एनेस्थेसियाका चिकित्सकहरु डा.अनिल शर्मा, डा. पंकज जोशी, क्रिटिकल केयर मेडिसिनका डा.सुभाष प्रसाद आर्चाय,डा.प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु, डा.जेन्टल सुन्दर श्रेष्ठ, ग्यास्ट्रोलोजी विभागका चिकित्सक डा राहुल पाठक र डा.रबिन हमाल, पेडियाक्ट्रिक विभागका चिकित्सक डा. सुधा बस्नेत र डा.सुर्य बहादुर थापा, प्याथोलोजी विभागका चिकित्सक डा.अनिलदेव पन्त र नुमाया गुरुङ्ग, रेडियोलोजी विभागका चिकित्सक डा. घनश्याम गुरुङ्ग, डा.शर्म पौडेल,डा.दिनेश चटौत, डा. प्रकाश कायस्थ, डा अजित थापा लगायतको टिम रहेको थियो ।