त्रिभुवन विश्वविद्यालय र पठाओ कम्पनीबिच त्रिविमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमा अध्ययनरत गरिब,जेहेन्दार विद्यार्थीहरुको उच्चशिक्षा सहयोग गर्ने उद्देश्यले पठाओ कम्पनीले बार्षिक रु १५ लाख छात्रवृत्तिस्वरुप त्रिविलाई उपलब्ध गराउने भएको छ । छात्रवृत्तिका लागि मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायमा अध्यनरत विद्यार्थीहरुलाई समेटिने विषय द्धिपक्षिय सहमति पत्रमा उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयका तर्फवाट विद्यार्थी कल्याणतथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारी र पठाओ कम्पनीको तर्फवाट सिनियर म्यानेजर सुरक्षा हमालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, योजना निर्देशनालयका निर्देशक प्रा.डा धुव्रकुमार गौतम, पठाओ कम्पनीका व्यवस्थापन निर्देशक असिममान सिंह बस्न्यात लगायतको उपस्थिति रहेको थियो ।