अर्थशास्त्र केन्द्रीय विभागद्धारा अन्तराष्ट्रिय सम्मेलनको आयोजना 

अर्थशास्त्र केन्द्रीय विभागद्धारा अन्तराष्ट्रिय सम्मेलनको आयोजना 

2023-09-22


त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले स्थापनाको अवसरमा बर्षेनी आयोजना गरिने  ‘सिडिकोन्स बार्षिक अन्तराष्ट्रिय सम्मेलन’ २०८० असोज ५ र ६ गते आयोजना गरिएको छ । सुक्ष्म अर्थशास्त्रीय नीति र उत्पादन, समावेशी र  दिगो आर्थिक विकास, उद्योग र व्यापारमा आर्थिक संस्थाहरुको भूमिका, विकासमा लैङ्गिक समानता, विकासका लागि कृषि तथा वातावरण, अर्थतन्त्रका बर्तमान समस्या, पहिचान र समाधान लगायत केही अर्थशास्त्रका वैश्विक मुद्दाहरुका बारेमा सम्मेलन केन्द्रीत रहेको थियो ।  काठमाडौंको गैरीगाउँ स्थित सिल्भर वेक पार्टी प्यालेसमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा नेपाल तथा  दक्षिण एसियाका भारत,पाकिस्तान, बंगलादेश लगायत देशका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 
अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विश्वका सवैदेशको आ–आफ्नै आर्थिक व्यवस्थापनका रणनीतिहरु हुने,े देशमा उपलब्ध स्रोत र साधन अनुसार आर्थिक नीति, मौद्रिक नीति निर्माण गरी सफल कार्यान्वयन हुँदै आइरहेको बताउनु भयो । फराकिलो,दिगो र समावेशी विकासले मात्रै अपेक्षित परिणाम दिन सक्ने  भएकोले आर्थिक विषयका दृष्टिकोण निर्माण गर्दा व्यवहारिक सचेतना  अपनाउन सम्पूर्ण विज्ञहरुमा अनुरोध गर्नुभएको थियो । नेपाल राष्ट्र बैंकले अर्थशास्त्र केन्द्रीय विभागसँग निरन्तर सहकार्य गर्दै आइरहेको र विश्वविद्यालयमा हुने प्राज्ञिक अनुसन्धान, खोज र गतिविधिले देशको नीति निर्माणमा सहयोग पु¥याउदै आएकोले सरकारलाई सम्पूर्ण नीतिहरु निर्माण गर्दा बौद्धिक वर्गको पर्याप्त सुझाव ग्रहण गर्न सुझाव दिनुभएको थियो । 
मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा.डा कुशुम शाक्यले सम्मेलन मार्फत  कृषिमा आधुनिक रुपान्तरण गरी अर्थतन्त्रलाई थप मजबुत बनाउन, रोजगारी बढाउन र महिलाहरुलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराउन नीति निर्माताहरुको ध्यान केन्द्रीत गर्नुभएको थियो
अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारीले अन्तराष्ट्रिय सम्मेलन चुनौतीपुर्ण बन्दै गइरहेको अर्थतन्त्रका बहुआयामिक विषयहरुमा विज्ञ, नीति निर्माता र विद्यार्थीहरु बीच स्वस्थ विचार र दृष्टिकोण आदान प्रदान गर्ने उद्देश्यमा अन्तरनिहित रहेको बताउनुभयो । देशको आर्थिक अवस्था, बढदो व्याजदर, आर्थिक सन्तुलनमा देखिएको खरावी, बढदो वेरोजगारी, बढदो मूल्यबृद्धि, व्यापार घाटा,  राजस्वमा देखिएको संकुचन, युवा पलायन, बढदो चालुखर्च, पुँजीगत खर्चगर्ने प्रणालीमा आइरहेको समस्या र प्रत्यक्ष वैदशिक लगानीमा देखिको समस्या समाधान गर्ने रचनात्मक उपायका बारेमा समेत सम्मेलन केन्द्रीत रहने धारणा व्यक्त गर्नुभएको थियो । 
अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा.निर्मल कुमार राउतले स्वागत मन्तव्य मार्फत अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । सम्मेलनको सहयोगी संस्थाहरुमा विश्व बैंक, नेपाल राष्ट्र बैंक, विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय बाणिज्य बैंक र साउथ एसिया इकोनोमिक्स पोलिसी नेटवर्क रहेका छन ।