त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयले ‘जर्नल परिमार्जन तथा व्यवस्थापन कार्यशाला’ २०८० असोज ४ र ५मा कीर्तिपुर स्थित त्रिवि केन्द्रीय पुस्तकालयमा आयोजना गरेको छ । कार्यशालामा जर्नल प्रकाशनमा संलग्न त्रिविका बिभिन्न निकायका शिक्षक तथा कर्मचारीहरुलाई संलग्न गराइएको छ ।
कार्यशालामा स्रोत व्यक्तिका रुपमा प्रा.डा देवेन्द्र अधिकारीले जर्नलमा प्रकाशित गने लेखहरुको प्राविधिक, लेखन, सम्पादन, डिजाइन, मूल्यांङकन, पुर्नमूल्यांङकन र प्रकाशनका विषयमा सहभागिहरुका लागि आवश्यक सीप र क्षमता विकासमा योगदान गर्नुभएको छ । कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराईले अनुसन्धान र प्रकाशनमा विश्वविद्यालय कमजोर हुन नहुने भन्दै उत्कृष्ट जर्नल प्रकाशनमा विश्वविद्यालयले उपयुक्त बिचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । जर्नल वढि प्रभावकारी र गुणस्तरीय हुन सम्पादकमण्डलको महत्वपूर्ण भूमिका हुनेभएकोले सम्पादन क्षमताको विकासका लागि पनि निरन्तर तालिम र अद्यवधिक हुने अवसर उपलब्ध गराउनुपर्ने बताउनुभयो । जर्नललाई केवल बृत्तिविकासको पक्षबाट हेर्दा समग्र गुणस्तरमा कमजोरी देखिएकोले स्तरीय प्रकाशनका लागि उपयुक्त विज्ञ छनौट गरी मुल्याङ्कन र पूनःमुल्याङ्कनलाई जोड दिन समेत सुझाव दिनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयले आफ्ना पाठ्यक्रमहरुलाई परिमार्जन गर्दै समसामयिक बनाउनका साथै अनुसन्धान र प्रकासन समेतलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । गुणस्तरीय जर्नल विश्वविद्यालयको महत्वपूर्ण लक्ष्य रहेको र त्यसलाई कार्यान्वयन गर्नका लागि जर्नल परिमार्जन तथा व्यवस्थापन कार्याशाला आयोजना गरिएको र अनैतिक प्रकाशन र बौद्धिक चोरीलाई निरुत्साहन गर्न कार्यविधि निर्माण भइरहेको जानकारी गराउनुभएको थियो । कार्यशालामा बिज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले जर्नल प्रकाशनलाई थप व्यवस्थित गरी विश्वसनियता बृद्धि गर्न निरन्तर तालिम मार्फत प्राध्यापकहरु परिष्कृत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्रिविले जर्नल प्रकाशनमा उल्लेख्य प्रगति गरेको भन्दै नेप्जोलमा उपलब्ध जर्नलहरुमा त्रिविका आङ्गिक निकायहरुको संलग्नमा १ सय ७ वटा जर्नल प्रकाशित भएको र सम्वन्धन प्राप्त निकायहरुको संलग्नतामा १ सय ६२ वटा जर्नल रहेको जानकारी गराउनुभयो । विश्वविद्यालयका निकायहरु मार्फत प्रकाशित हुने जर्नलहरु २ वटा तारामा मात्रै सीमित हुन नहुने भन्दै अन्तराष्ट्रिय स्तरका जर्नल प्रकाशनमा विशेष ध्यान दिन आवश्यक रहेको सुझाव दिनुभएको थियो ।
शिक्षाशास्त्र संकायका डीन प्रा.डा चित्रबहादुर बुढाथोकीले जर्नल प्रकाशनमा सुधार गर्नुपर्ने महत्वपूर्ण पक्षहरुमा सुझाव दिनु हुँदैै कतिपय शिक्षकहरुमा जर्नल प्रकाशनका बारेमा आधारभुत ज्ञान समेत नभएको टिप्पणी गर्नुभएको थियो । विद्यावारिधि नगरेका शिक्षकहरुमा अनुसन्धान र प्रकाशन सम्वन्धीत थुप्रै समस्याहरु रहेको, निरन्तर प्रकाशनका लागि प्रतिबद्ध जनशक्ति नभएको, विज्ञ सम्पादक र मुल्याङ्कनकर्ताको अभाव रहेको, अनुसन्धानको प्राप्ती र निष्कर्षलाई प्रभावकारीरुपमा उल्लेख गर्न नसकिएको, विद्यार्थीहरुलाई अनुसन्धानमा संलग्न गराउने परिपाटी निर्माण नगराइएको, अनुसन्धानात्मक भन्दा व्यक्तिगत मुल्यांङकन हुने गरेको भन्दै अनुसन्धान तथा प्रकाशनलाई निरन्तर अनुगमन र मूल्यांङ्कन गर्न सुझाव दिनुभएको थियो । कार्यशालामा अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा ईश्वर कोइरालाले कार्याशालाको उद्देश्य र औचित्यका बारेमा जानकारी गराउनुभएको थियो भने निर्देशनालयका उपप्राध्यापक सुमन्त घिमिरेले स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन उप्राध्यापक हर्कबहादुर शाहीले गर्नुभएको थियो ।