प्राज्ञिक परिषद्को पूर्ण वैठक सम्पन्न

प्राज्ञिक परिषद्को पूर्ण वैठक सम्पन्न

2026-10-02

काठमाडौं । असोज १६

त्रिभुवन विश्वविद्यालय,प्राज्ञिक परिषद्को पूर्ण बैठकले आ.व २०८१/०८२ र आ.व २०८२/२०८३ मा प्राज्ञिक परिषद्को स्थायी समितिवाट भएका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमूना, मौका परीक्षा सम्वन्धका निर्णयहरुका साथै विभिन्न शैक्षिक उपाधिहरुको स्थापना, बिषय थप, विद्यार्थी भर्ना एवं कोटा निर्धारण सम्वन्धमा भएका निर्णयहरुको अनुमोदन गरेको छ।त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० मा व्यवस्था भएबमोजिम विभिन्न अध्ययन संस्थान तथा संकायहरुको विद्यापरिषद् एवं परीक्षा नियन्त्रण कार्यालयमा रहेको केन्द्रीय परीक्षा समिति लगायतवाट प्राप्त प्रस्तावहरुलाई प्राज्ञिक परिषद् स्थायी समितिवाट निर्णय भई पूर्णबैठकले उक्त निर्णयहरुको अनुमोदन गर्नुपर्नेछ ।

प्राज्ञिक परिषद्को उक्त पूर्ण बैठकलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं त्रिवि प्राज्ञिक परिषद्का अध्यक्ष प्रा.डा भोला थापाले त्रिभुवन विश्वविद्याललाई अन्तराष्ट्रिय स्तरमै थप मर्यादित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने, सवै विषयहरुका पाठ्यक्रमहरुलाई समयसापेक्षित,बजारकेन्द्रीत र राज्यको नीतिसँग तादाम्यता मिलाई प्रभावकारी बनाउने, भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने, जनताको विश्वास र भरोसा कायमगरी प्राज्ञिक उन्नयन र अन्तराष्ट्रीयकरणमा जोड दिने, विदेशी विद्यार्थीहरु आर्कषित गर्ने, विद्यार्थीहरु गुणस्तरीय शिक्षाकै निम्ति विदेश पलायन हुने अवस्था सिर्जना हुन नदिने धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिहंले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै उच्चशिक्षाको करिव ७८ प्रतिशत जिम्मेवारी वहन गरिरहेको त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक निकाय बनाउन नवप्रवर्त र अनुसन्धानमा कार्य गरिरहेको बताउनुभयो । देशै प्राज्ञिक धरोहरको रुपमा सम्मानित विश्वविद्यालयको समग्र विकासका लागि सवै प्राज्ञिक व्यक्तित्वहरुको राय र सुझाव लिई मा विश्वविद्यालयले आफ्ना शैक्षिक निती,कार्यक्रम र योजनाहरु निर्धारण गरी अघि बढने बताउनुभएको थियो ।

प्राज्ञिक परिषद्को उक्त पूर्ण वैठकमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटीले आ.व २०८१/०८२ र आ.व २०८३/२०८३ मा प्राज्ञिक परिषद् स्थायी समितिवाट पाठ्यक्रम स्वीकृति सम्वन्धमा, ट्रान्सक्रिप्टको नमुना स्वीकृति सम्वन्धमा र विद्यार्थीहरुका लागि मौका परीक्षा दिन स्वीकृति दिने सम्वन्धमा भएका निर्णयहरु अनुमोदनका लागि प्रस्तुत गर्नुभएको थियो भने शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिहंले प्राज्ञिक परिषद् स्थायी समितिको शैक्षिक उपाधि स्थापना, शैक्षिक कार्यक्रम,विषयथप तथा विद्यार्थी कोटा थप सम्वन्धी निर्णयहरु अनुमोदनका लागी प्रस्तुत गर्नुभएको थियो । बैठकको सञ्चालन तथा कृतज्ञता ज्ञापन व्यवस्थापन संकायका डीन तथा प्राज्ञिक परिषद्का सदस्य सचिव प्रा.डा महानन्द चालिसेले गर्नुभएको थियो । वैठकमा प्राज्ञिक परिषद्का सदस्यहरु प्रा.डा हरिप्रसाद पाठक, प्रा.डा विनयकुमार झा, प्रा.डा राजेन्द्र श्रेष्ठ,प्रा.डा आनन्दकुमार शर्मा, प्रा.डा कुमार सापकोटा, डा.मृगेन्द्र बहादुर कार्की, प्रा.डा बविता अधिकारी, डा.शिवकुमार राई एवं डा शम्भु शाह लगायतले महत्वपूर्ण सुझावहरु दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा व्यवस्था भए बमोजिम प्राज्ञिक परिषद् अध्यक्ष सहित ५० जना सदस्यहरु रहने प्रावधान रहेको छ