दीर्घसेवा पदकवाट शिक्षक तथा कर्मचारी सम्मानित

दीर्घसेवा पदकवाट शिक्षक तथा कर्मचारी सम्मानित

2026-07-22

 

काठमाडौं । साउन ६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७ औं बार्षिक दिवसको अवसरमा त्रिवि सेवामा २५ बर्ष अटुटरुपमा सेवा गर्ने १४२ शिक्षक र ४३ कर्मचारीहरु दीर्घ सेवा पदक तथा सम्मानपत्र द्बारा विभुषित भएका छन् । त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्वन्धी नियम २०५० को दफा ४५ मा व्यवस्था भए बमोजिम प्रत्येक बर्ष बार्षिकदिवसको अवसरमा उक्त दीर्घसेवा पदक प्रदान हुँदै आइरहेको छ । त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापाले दीर्घसेवा पदक तथा उपकुलपति प्रा.डा भोला थापाले सम्मानपत्र प्रदान गर्नुभएको हो

त्रिभुवन स्मृती भवनमा आयोजित दीर्घसेवा पदक तथा सम्मानपत्र वितरण कार्यक्रमलाई संक्षिप्तरुपमा सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा भोला थापाले त्रिविमा आफ्नो उपस्थितिलाई परिवर्तनको संकेतको संज्ञा दिनुहुँदै मुलुककै गरिमामय त्रिभुवन विश्वविद्यालयलाई सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा रुपान्तरण गर्नुपर्ने,गौरवपूर्ण विरासतको गरिमा राख्नुपर्ने, ज्ञानमा आधारित समाजमा निर्माणका लागी योगदान गर्नुपर्ने, युवाहरुको अपेक्षा बमोजिम गुणस्तरीय र अन्तराष्ट्रीयस्तरमा स्वीकार्य उच्चशिक्षाको वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले उपलब्ध शैक्षिक तथा प्रशासनिक जनशक्तिको अधिकतम उपयोग गरी विश्वविद्यालयमा सुशासन कायम गर्ने, सरकारसँगको आर्थिक परनिर्भरता कम गर्ने, अधिक केन्द्रीयकरणलाई कम गर्न स्वायत्तता र विकेन्द्रीकरणको नियमको कार्यान्वयन गर्ने, त्रिविका अलुम्नाईलाई विश्वविद्यालयको दिगो स्रोतको रुपमा उपयोग गर्ने र केन्द्रमा धाइरहनु नपर्ने प्रणालीको व्यवस्था गर्ने बताउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष किशोर थापाले देशकै मानक विश्वविद्यालयको रुपमा रहेको त्रिविको उन्नती र प्रगतीका लागी आफ्नो जिवनको अत्यन्तै उर्जाशिल समय व्यतित गरी दीर्घसेवा पदक प्राप्त गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारिहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुहुँदै सक्षम,योग्य र समर्पित जनशक्ति उपलब्ध गराउन च्वच्छ, निष्पक्ष, पूर्वाग्रह रहित र अनुमानयोग्य ढंगले सेवा आयोगले कार्यसम्पादन गर्ने सुनिश्चितता व्यक्त गर्नुभयो । विगतमा भएका सवैप्रकार कमि कमजोरी र अवरोधलाई निरुत्साहित गर्न आत्मकेन्द्रीत र पूर्वाग्रही भन्दा स्वस्थ्य टीकाटिप्पण गर्नुहुन समेत विद्बत वर्गलाई विशेष अनुरोध गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा शंकर प्रसाद खनालले विभिन्न चुनौती र कठिनाईका बावजुत त्रिविमा शैक्षिक पात्रो कार्यान्वयनमा आएको, परीक्षा र नजिता प्रकाशनमा महत्वपूर्ण सुधार भएको, प्रविधिको विकास र प्रयोगशालाको स्तरोन्नतीमा सुधार गरिएको, बजारको माग र आवश्यकता अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाठ्यक्रमहरुलाई क्रमश: परिमार्जन गरी समयसामयिक बनाईएको बताउनुभयो । उहाँले त्रिवि प्रति विद्यार्थी आकर्षणमा कुनै कमी नआएको उल्लेख गर्नुहुँदै त्रिविको शासकीय प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका निमित्त रजिष्ट्रार प्रा.डा महनन्द चालिसेले मुलुकको बौद्बिक विकास, मानवसंशासनको विकास, अनुसन्धान र नवप्रवर्तनमा त्रिविको ऐतिहासिक योगदान गरेको उल्लेख गर्नुहुँदै निति, नियम, प्रणाली र संरचना मात्रै नभइ विश्वविद्यालय प्रति समर्पित शिक्षक र कर्मचारीहरुनै वास्तविक विश्वविद्यालय भएको बताउनुभयो । बार्षिक दिवस भविष्यलाई नयाँ दृष्टीकोणवाट हेर्ने अवसरको रुपमा ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्नुहुँदै कृत्रिम बुद्बिमता र प्रविधिको क्षेत्रमा देखिएको अदभुत परिर्वतनले उच्चशिक्षामा चुनौती र अवसर एकैसाथ प्राप्त भएको उल्लेख गर्नुभएको थियो । दीर्घसेवा प्राप्त गर्नेमा १७ प्राध्यापक, ५९ सहप्राध्यापक तथा ६६ जना उपप्राध्यापक तथा अधिकृत द्बितिय देखि श्रेणी विहिन सम्मका ४३ कर्मचारीहरु रहेका छन् । यसैगरी आर्थिक वर्ष २०८१।०८२ तर्फको उत्कृष्ट अनुदान पुरस्कारवाट सहप्राध्यापक डा. हरीप्रसाद शर्मा र उपप्राध्यापक डा. विनोद घिमिरे सम्मानित हुनुभएको छ । साथै यसवर्ष वार्षिक दिवसको अवसरमा प्रदान गर्दै आइरहेको बावुकृष्ण रिजाल पुरस्कार विकल्प पौडेल, बेलिवशेश्वर चटौत पुरस्कार अपेक्षा भट्टराई र महेशचन्द्र तथा मनदेवी रेग्मी पुरस्कार रोजीना राईलाई प्रदान गरिएको छ