त्रिवि उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त

त्रिवि उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त

2026-07-06

त्रिवि उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त

काठमाडौं । असार २२

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त हुनुभएको छ । सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति श्री बालेन्द्र शाहज्यूले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ (२) बमोजिम गठित समितिको सिफारिस अनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम मिति २०८३।०३।१९ गतेको निर्णायानुसार नियुक्त गर्नुभएको हो ।

उहाँलाई नेपाल सरकारबाट जारी विभिन्न विश्वविद्यालयलयका उपकुलपति छनोट तथा सिफारिस सम्वन्धी कार्यविधि २०८३ बमोजिम गठित छनोट तथा सिफारिस समितिले प्रतिस्पर्धाका आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गरेको थियो । नविनयुक्त उपकुलपति प्रा.डा थापाले मिति २०८३।०३।२२ गते सोमवार कीर्तीपुर स्थित उपकुलपतिको कार्यालायमा पदभार ग्रहण गर्नुभएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति समेत रहिसक्नुभएका प्रा.डा भोला थापा प्राज्ञिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । उहाँले नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। काठमाडौं विश्वविद्यालयमा रजिस्ट्रार र इन्जिनियरिङ संकायका डीनसहित थुप्रै महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरिसक्नुभएका नवनियुक्त उपकुलपति प्रा.डा थापाले हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गर्नुभएको छ । प्रा.डा थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि उपाधि गर्नुभएको हो ।

पदभार ग्रहणकार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै उहाँले भौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोग मार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित समर्पित भएर लाग्ने प्रतिवद्बता व्यक्त गर्नुभएको थियो । साथै पदभार कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा सुशील बहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा शंकर प्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा.डा महानन्द चालिसे लगायत विभिन्न अध्ययन संस्थान तथा संकायका डीनहरु,अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरु, निर्देशकहरु, महाशाखाका प्रमुखहरु लगायत प्राध्यापक,कर्मचारीहरु का साथै विद्यार्थीहरु समेत सहभागीता रहेको थियो