सेरिडमा जर्नल सम्पादन तथा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

सेरिडमा जर्नल सम्पादन तथा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

2026-06-06

सेरिडमा जर्नल सम्पादन तथा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

त्रिभुवन विश्वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)ले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा वि. सं. २०८३ जेठ १९ देखि २०८३ जेठ २३ गतेसम्म Training on Journal Editorial Management-2026 शीर्षकमा पाँच दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

त्रि. वि. का रजिस्ट्रार प्रा. डा. महानन्द चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिक्षाशास्त्र संकायका डीन प्रा. डा. वेदराज आचार्य, सेडाका कार्यकारी निर्देशक प्रा. डा. अर्जुन कुमार बराल, रिकास्टका कार्यकारी निर्देशक प्रा. डा. मीना राजभण्डारी, शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा. डा. नारायण बेलबासे र सिराहाका क्याम्पस प्रमुख तथा सहभागी सहप्रा राजेश्वर प्रसाद यादवले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उद्घाटन कार्यक्रमका अतिथि प्रा. बेलबासे, प्रा. राजभण्डारी र प्रा. बरालले सफलताको शुभकामना दिनुभएको थियो भने  डीन आचार्य र प्रमुख अतिथिले यो तालिम कार्यक्रम त्रि. वि. को इतिहासमै सम्भवत नयाँ र सान्दर्भिक कार्यक्रम भएको भनेर सेरिडको प्रशंसा समेत गर्नुभएको थियो। प्रमुख अतिथिले घरेलु जर्नलहरूमै राम्रा लेखहरू छापेर स्तरीकृत गर्नुपर्ने विचार राख्नुभएको थियो।

कार्यक्रममा संयोजक डा. श्रीकृष्ण पन्थीले सहभागी तथा अतिथिहरूलाई स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने आरएमसी संयोजक डा. देवराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने सेरिड जर्नलहरूलाई ४ वर्ष भित्र Scopus मा इन्डेक्स गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराउँदै कार्यक्रमका अध्यक्ष एवम् सेरिडका कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरले समारोह समापन गर्नुभएको थियो। कार्यक्रम सेरिडका उपप्रा इन्द्रेस ठाकुरले सञ्‍चालन गर्नुभएको थियो। सोही दिन कार्यक्रमको दोस्रो सत्रलाई नेपाल खुला विश्वविद्यालयका उपप्रा डा. जीवन खनाल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आशिस श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

जेठ १९ गतेदेखि शुरु भएको यस कार्यक्रममा डा. जीवन खनाल, डा. आशिष श्रेष्ठ, डा. विकास पौडेल, डा. विकास श्रेष्ठ र सुरेश रिजाल लगायतका विज्ञहरूले प्राज्ञिक जर्नल प्रकाशन नीति, ओपन जर्नल सिस्टम (OJS) को सञ्चालन, Workflow management र साहित्यिक चोरी (Plagiarism) नियन्त्रण, AI जस्ता प्राविधिक विषयहरूमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको पछिल्ला सत्रहरूमा डा. विष्णु प्रसाद मरासिनी, प्रा. डा. बिनिल अर्याल, डा. पवन कुमार हमाल, डा. पवन शर्मा, प्रा. गणेश दंगाल र प्रा. रुपेश मुखियाले प्रकाशन आचारसंहिता (COPE), पियर रिभ्यु मोडल, कपी-एडिटिङ र Scopus, WOS एवम् DOAJ जस्ता विश्वस्तरीय डेटाबेसमा जर्नल इन्डेक्सिङ गर्ने व्यावसायिक विधिहरूबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। कार्यक्रम संयोजक डा. श्रीकृष्ण पन्थीका अनुसार यस तालिमको मुख्य उद्देश्य प्राज्ञिक जर्नल प्रकाशनमा संलग्न व्यक्तिहरूलाई आधुनिक र प्रविधिमैत्री बनाउनु हो।

यस तालिमले नेपालका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूमा लेखन तथा जर्नल प्रकाशनमा संलग्न व्यक्तिहरूमा प्रकाशन सचेतना र सीप विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने देखिन्छ। जर्नलमा लेख लेखन तथा सम्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र 'OJS' प्रणालीको प्रयोगले विश्वविद्यालयका अनुसन्धानमूलक प्रकाशनहरूलाई डिजिटल र पारदर्शी बनाउनुका साथै प्राज्ञिक कार्यको विश्वसनीयता उच्च राख्न मद्दत पुर्‍याउनेछ। WOS, PubMed, Scopus DOAJ जस्ता अन्तर्राष्ट्रिय प्रणालीमा नेपाली जर्नलहरूको पहुँच सुनिश्चित हुँदा यहाँका अनुसन्धानहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। सम्पादकीय बोर्ड, समीक्षक र लेखकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा यो प्रयासले अन्ततः नेपाली विश्वविद्यालयहरूको प्राज्ञिक उन्नयन र तिनको विश्वव्यापी र्‌याङ्किङ (University Ranking) मा समेत सुधार ल्याउन कोसेढुङ्गा सावित हुने विश्वस्त हुन सिकन्छ।

उक्त पाँच दिने कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य दिनुहुँदै श्विविद्यालय अनुदान आयोगका सचिव डा. केदार प्रसाद आचार्यले विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई कन्सल्टेन्सीका रूपमा नभै स्वतन्त्र र सबल अनुसन्धान केन्द्रका रूपमा विकास गर्न नीतिगत परिवर्तन आवश्यक रहेको बताउँदै निकट भविष्यमा डाटावेस निर्माण गरेर नेपालका सबै जर्नलहरूलाई र्याकींग गरिने योजना रहेको बताउनु भयो। साथै त्रि. वि. अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. ईश्वर कोइरालाले अनुसन्धान परियोजनाहरूको बजेट आर्थिक वर्ष समाप्त भएसँगै बन्द हुन नहुने र तालिममा सिकेका ज्ञान तथा सिप व्यवहारमा उतार्नुपर्ने भन्नुभयो। कार्यक्रममा अर्का अतिथि शिक्षा केन्द्रिय विभाग प्रमुख प्रा. डा. नारायण बेलवासे र सेरिड सदस्य सह प्रा. इन्दिरा पन्तले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।

साथै कार्यक्रम संयोजक डा. पन्थीले अतिथि, अयोजक समिति तथा सेरिडका सम्पूर्ण सदस्यहरू, सहभागी, विज्ञ, पोटेन्ट मिडिया, बाग्मती स्वीट्सलाई सहयोगका लागि धन्यवाद दिनुभएको थियो। सहभागीको तर्फबाट बोल्दै इतिहास केन्द्रिय विभागका सह-प्रा.डा. डोलराज काफ्ले र त्रि वि महाराजगन्ज नर्सिंग क्याम्पसकी डा. अप्सरा पाण्डेले कार्यक्रम अत्यन्तै सान्दर्भिक र उपयोगी तथा विज्ञ सहजकर्ता पनि निकै सहयोगी भएको तर कार्यक्रम ३ दिनसम्म र सहजकर्ता बिभिन्न विषयक्षेत्रका भएमा यस्ता कार्यक्रम अझ प्रभावकारी हुने बताएका थिए। उक्त कार्यक्रमका अध्यक्ष तथा शिक्षा विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरले सहभागीहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागुगर्दै आफ्नो पेशागत दक्षता तथा संस्थाको गुणास्तर वृद्धि गर्नसक्ने बताउनु भयो। सेरिडका उपप्रा. इन्द्रेश ठाकुरले सञ्चालन गर्नुभएको यस कार्यक्रममा सुर्खेतदेखि सिराहा जिल्ला सम्मका बिभिन्न निजि, सामुदायिक र आङ्गिक क्यापसहरू, त्रि. वि. का बिभिन्न केन्द्रीय विभागहरू, एवम् अनुसन्धान केन्द्रहरू CNASCEDA बाट पनि सहभागीता रहेको थियो।

स्रोत सेरिड