त्रिभुवन विश्वविद्यालयबाट जारी प्रेस विज्ञप्ति 

त्रिभुवन विश्वविद्यालयबाट जारी प्रेस विज्ञप्ति 

2024-05-07
Tribhuvan University

त्रिभुवन विश्वविद्यालयबाट जारी प्रेस विज्ञप्ति 

माननीय शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलति ज्यू, उपकुलपतिज्यू, शिक्षाध्यक्षज्यू, डीनज्यूहरू, महाशाखाप्रमुखज्यूहरू साथै उपस्थितसञ्चारकर्मी मित्रहरू !
उच्चशिक्षाको ऐतिहासिक राष्ट्रिय धरोहरका रूपमा प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा माननीय शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिविका सहकुलपति सुमना श्रेष्ठज्यूको उपस्थिति र विश्वविद्यालयका सन्दर्भमा उहाँको जिज्ञाशा,सुझाव,मार्गदर्शन र अभिभावकत्वप्रति त्रिभुवन विश्वविद्यालय परिवार कृतज्ञ छ  । 
देशका लागि आवश्यक उच्च दक्ष जनशक्ति निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी बोकेको जनताको विश्वविद्यालयका रूपमा स्थापित त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा पहिलोपटक खुल्ला प्रतियोगिताबाट २०८० फागुन १० मा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनु भएको र नवनियुक्त उपकुलपतिको सोचपत्रमा उल्लिखित लक्ष्य एवम् उद्देश्य प्राप्तिका लागि उहाँकै सिफारीशमा २०८० चैत ३० मा प्रधानमन्त्री तथा त्रिविकुलपतिद्वारा शिक्षाध्यक्षपदमा प्रा.डा. खड्ग के.सी. र रजिष्ट्रार पदमा म केदारप्रसाद रिजाल नियुक्त भएको बेहोरा सञ्चारकर्मी मित्रहरूमा अवगतनै छ । 
त्रिभुवन विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक,प्रशासनिक,आर्थिक एवम् व्यवस्थापकीय समस्याको दीगो र भरपर्दो समाधानका लागि हाम्रो टिम अनवरत रूपमा कार्य क्षेत्रमा उत्रिएको छ । त्रिभुवन विश्वविद्यालयका सन्दर्भमा यहाँहरूका प्रतिष्ठित सञ्चारमाध्यमहरूमा प्रकाशित एवम् प्रसारित समाचार तथा विचार–दृष्टिकोणहरूलाई हामीले गम्भिरतापूर्वक लिनुका साथै विश्वविद्यालयका कार्ययोजना एवम् गतिविधि माथि महत्वपूर्ण पृष्ठपोषणका रूपमा ग्रहण गर्ने गरेका छौं । 
पछिल्लो समय त्रिविबारे चर्चामा आएका विषयहरूलाई सम्बोधन एवम् समाधान गर्ने गरी कार्यान्वयनमा लैजाने कार्यमा हामी अग्रसर भएका छौं । यस क्रममा हराएका उत्तरपुस्तिकाहरूका सम्बन्धमा छानबीन गर्न २०८० चैत १५ मा पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उच्चस्तरीय समितिले छानबीन प्रतिवेदन बुझाइसकेको छ । हाल उक्त प्रतिवेदनको अध्ययन भैरहेको जानकारी गराउँदछौं । 
त्रिविमा विद्यमान जनशक्ति व्यवस्थापन र दरवन्दीहरूको अवस्था अध्ययन गरी त्रिवि सेवा आयोग मार्फत् यथाशक्य विज्ञापन गराई शिक्षक–कर्मचारीहरूको पदपूर्ति गर्न प्रा.डा.नवराज कडेलको संयोजकत्वमा जनशक्ति तथा दरवन्दी पुनरावलोकन एवम् व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको छ । साथै पदपूर्तिसँग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरी सेवा आयोग मार्फत् अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएकाहरूलाई ‘फाष्टट्रयाक’बाट प्राध्यापकमा नियुक्त गर्ने गृहकार्य भइरहेको छ ।
त्रिविको समक्षकताका सम्बन्धमा उत्पन्न समस्या निराकरण गर्न प्रा.डा. भिमसेन देवकोटाको संयोजकत्वमा समकक्षता सम्बन्धी कार्यविधि संशोधन समिति गठन गरिएको छ । समकक्षतामा देखापरेका द्विविधाहरूको अन्त्य गर्न र सेवाग्राहीहरूलाई विना झञ्झट समकक्षता उपलब्ध गराउन हामीहरू प्रतिबद्ध छौं ।
त्रिभुवन विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरुपता कायम गर्न त्रिवि सेवा अयोगका पूर्व अध्यक्ष प्रा.डा.लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति गठन गरी कार्यादेश दिइएको छ । साथै त्रिवि अन्तर्गतका निकायमा तोकिएका पदाधिकारीहरू नियुक्त गर्दा अपनाउनुपर्ने आधार तथा मापदण्ड तयार गरी सुझाव सहित्को प्रतिवेदन पेशगर्न प्रा.डा.पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति निर्माण गरी कार्यप्रारम्भ गरिएको छ । 
त्रिवि प्राज्ञिक परिषद् २०८० चैत १५ को निर्णयअनुसार त्रिविका सबै सङ्कायबाट वार्षिक परीक्षा प्रणाली अनुसार लिइने स्नातकतहको आगामी प्रथम वर्षको परीक्षादेखि नै अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्रहरू तयार गरिने भएको छ । साथै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूलाई थपजिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझसरलीकरण गर्ने निर्र्णय पनि गरिएको छ ।
सञ्चारकर्मी मित्रहरू,
त्रिविले यसअघि गरेका संस्थागत सुधारका कैयौंकामहरूलाई निरन्तरता दिँदै उपकुलपतिज्यूको सोचपत्रमा उल्लिखित शैक्षिकपात्रोलाई व्यवस्थित गर्ने र कार्यान्वयन गर्ने तथा केन्द्रीयविभागहरूलाई स्कूल मोडलमा लैजाने प्रक्रिया यसअघि नै शुरू भइसकेकोले त्यसलाई क्रमशः अघि बढाउने, त्रिविलाई सङ्घीयताको ढाँचा अनुरूप पुनःसंरचना गर्ने र छात्रवृत्तिलाई व्यवस्थित गरी विद्यार्थीहरूलाई थप लाभान्वीत बनाउने विषयमा निकट भविष्यमा थप निर्णय लिने जानकारी गराउँदै यहाँहरूको अमूल्य सुझाव र सहयोगको अपेक्षागर्दछौं । 
यस पत्रकार भेटघाटमा यहाँहरूको उपस्थिति एवम् जिज्ञाशाका लागि धन्यवाद !

प्रा.डा. केदारप्रसाद रिजाल
रजिष्ट्रार