स्थानीय सयपत्री जातहरूको व्यावसायिक क्षमता पुष्टि: आयात घटाउने सम्भावना उजागर

स्थानीय सयपत्री जातहरूको व्यावसायिक क्षमता पुष्टि: आयात घटाउने सम्भावना उजागर

2026-04-23

 

त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अनुसन्धानले स्थानीय जातहरूको उत्पादन, अनुकूलन क्षमता र आनुवंशिक विविधतामा बलियो सम्भावना देखायो, त्रिभुवन विश्वविद्यालयमा २०८३ साल बैशाख १० गते सयपत्री सम्बन्धी अनुसन्धानका निष्कर्षहरू सार्वजनिक गर्न आयोजना गरिएको प्रसार (dissemination) कार्यशालामा शिक्षाविद्, नीतिनिर्माता, विषय विज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका स्थानीय सयपत्री जातहरूको आकृतिक (morphological) तथा आनुवंशिक (genetic) विश्लेषण सम्बन्धी अनुसन्धानका प्रमुख निष्कर्षहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रा.डा. किशोर चन्द्र दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी रहनुभएको थियो। प्रमुख अतिथि प्रा.डा. केसीले यस्ता अनुसन्धानहरू व्यवहारमा लागू गर्न सकिने भएकाले उद्योग क्षेत्र र स्थानीय सरकारसँग सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान निर्देशनालयका निर्देशक प्रा. डा. ईश्वर कोइरालाले यस्ता व्यवहारिक तथा उपयोगी अनुसन्धान गतिविधिहरूको प्रवर्द्धन गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

उक्त अनुसन्धान डा. हुमा न्यौपानेको नेतृत्वमा सम्पन्न भएको हो भने सह-अनुसन्धानकर्ताका रूपमा जानुका दाहाल र सानु कृष्ण महर्जन संलग्न हुनुहुन्थ्यो। कार्यक्रममा मुकेश क्षेत्री, उमेद पुन र दिनेश सापकोटाले अनुसन्धानको प्रशंसा गर्दै यसको कृषि तथा फूलखेती क्षेत्रमा पर्ने सकारात्मक प्रभावबारे धारणा व्यक्त गर्नुभयो। उद्योग क्षेत्रका प्रतिनिधि खोजराज कटुवालले विश्वविद्यालय र उद्योगबीच सहकार्य सुदृढ गर्न तथा प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

अनुसन्धानले नेपालका स्थानीय सयपत्री जातहरूले आयातित हाइब्रिड जातसँग प्रतिस्पर्धा गर्न सक्ने वा कतिपय अवस्थामा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखाएको छ। यसले आयात निर्भरता घटाउने, स्थानीय बीउ प्रणाली सुदृढ गर्ने तथा देशमै दिगो फूलखेती विकास गर्ने ठूलो सम्भावना उजागर गरेको छ।

सयपत्री नेपालमा तिहार, विवाह तथा धार्मिक कार्यहरूमा अत्यन्त व्यापक रूपमा प्रयोग हुने फूल हो र यसको बजार माग वर्षेनि बढ्दै गएको छ। तर, फूलखेती व्यवसाय विस्तार हुँदै गएको भए पनि नेपाल अझै रोपाइँ सामग्री तथा बीउका लागि आयातमा निर्भर रहेको छ, जसले उत्पादन लागत बढाउने, किसानको नाफामा कमी ल्याउने तथा व्यापार घाटा बढाउने जस्ता समस्या सिर्जना गरेको छ।

यो अध्ययन पूर्वी नेपालका विभिन्न जिल्लाबाट संकलित २९ स्थानीय सयपत्री जातहरूको आधारमा गरिएको हो, जसमा क्षेत्रीय (field-based) तथा आनुवंशिक (DNA-based) दुवै विश्लेषण समावेश गरिएको थियो। अध्ययनले देखाएको छ कि केही स्थानीय जातहरूले व्यावसायिक (हाइब्रिड) जातसँग बराबरी वा अझ राम्रो प्रदर्शन गरेका छन्। विशेष रूपमा Co16869 जातले उच्च उत्पादन र अनुकूलन क्षमता देखाएको छ भने Co16866 जातले राम्रो बिरुवा वृद्धि र ठूलो फूल आकार देखाएको छ।

अध्ययनले स्थानीय सयपत्री जातहरूमा उच्च आनुवंशिक विविधता रहेको देखाएको छ, जसमा करिब ७७ प्रतिशत विविधता स्थानीय स्तरमै रहेको पाइयो। यसले स्थानीय स्तरमै सुधार तथा उन्नत जात विकास गर्न सकिने ठूलो सम्भावना रहेको संकेत गर्दछ।

अनुसन्धानको मुख्य सन्देश स्पष्ट छ, स्थानीय सयपत्री जातहरू कमजोर होइनन्, बरु तिनीहरूको उपयोग सीमित भएको हो। उचित अनुसन्धान, प्रविधि र लगानीको माध्यमबाट नेपालले आफ्नै उच्च उत्पादन दिने, प्रतिस्पर्धात्मक तथा दिगो जातहरू विकास गर्न सक्ने स्पष्ट सम्भावना रहेको छ।

हाल नेपालले फूल तथा बीउमा ठूलो मात्रामा आयात गर्दै आएको छ, जसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ। किसानहरू आयातित बीउमा निर्भर छन्, जसले उत्पादन लागत बढाउने मात्र होइन, दीर्घकालीन रूपमा आत्मनिर्भरता कमजोर बनाउने जोखिम पनि सिर्जना गर्दछ। साथै, स्थानीय जातहरू क्रमशः हराउँदै गइरहेका छन् र फूलखेती अझै पनि राष्ट्रिय कृषि नीतिमा पर्याप्त प्राथमिकतामा नपर्नु अर्को महत्वपूर्ण चुनौती हो।

अध्ययन अनुसार नेपालले स्थानीय स्तरमै अनुसन्धान, बीउ विकास तथा हाइब्रिड विकासमा लगानी गर्नुपर्छ। फूलखेतीका लागि सुदृढ बीउ प्रणाली विकास गर्न आवश्यक छ भने स्थानीय जातहरूको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्छ। यसले आयात निर्भरता घटाउन, किसानको आम्दानी वृद्धि गर्न तथा दिगो फूलखेती विकास सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।

यो अनुसन्धान त्रिभुवन विश्वविद्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको परियोजना अन्तर्गत सम्पन्न भएको हो। अध्ययनले स्पष्ट देखाएको छ कि नेपालसँग पर्याप्त आनुवंशिक स्रोत उपलब्ध छन्, तर तिनीहरूको प्रभावकारी उपयोग हुन सकेको छैन। समस्या स्रोतको अभाव होइन, बरु नीति, अनुसन्धान र बजार प्रणालीको कमजोरी हो।

अन्ततः, सही नीति, अनुसन्धान र सहकार्य भएमा नेपाल सयपत्री खेतीमा आत्मनिर्भर मात्र होइन, प्रतिस्पर्धात्मक बजारमा समेत सशक्त रूपमा प्रवेश गर्न सक्ने सम्भावना बलियो देखिएको छ।