त्रिभुवन विश्वविद्यलाय जनशक्ति कल्याण परिषद समन्वय महाशाखाद्धारा आयोजित बाग्मति प्रदेशका चितवन, मकवानपुर जिल्ला एवम् मधेस प्रदेश र कोशी प्रदेशका त्रिभुवन विश्वविद्यलाय अन्तर्गतका विभिन्न क्याम्पस तथा कार्यालयहरुमा स्थायी सेवामा कार्यरत मुख्य कार्यालय सहाय,कार्यालय सहायक कर्मचारीहरुको ८ दिने तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिम २०८० जेठ १० देखि १८ सम्म सञ्चालन हुने भएको छ ।
त्रिवि सेवामा कार्यरत कर्मचारीहरुलाई थप प्रोत्साहित गर्ने, जिम्मेवार र उत्तरदायी बनाउने र समयानुकुल दक्ष र प्रभावकारी बनाई संस्थागत हित अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको उद्घाटन केन्द्रीय प्रविधि क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख एवम् क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा धनबहादुर कार्कीले गर्नुभएको थियो । तालिमको उद्घाटन समरोहमा संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै पूर्व क्याम्पस प्रमुख प्रा.डा कार्कीले विश्वविद्यालयको समग्र विकास र प्राज्ञिक उन्नयनका लागि प्राध्याप,कर्मचारी र विद्यार्थीहरुको सकरात्मक योगदान हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले कुनैपनि मुलुकको विकासका लागी शिक्षाको विकास अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नु भयो कुनै देश ध्वस्त पार्नुछ भने त्यो देशको शिक्षालाई समाप्त पारे पुग्छ । सूचना प्रविधिको प्रयोगलाई जोड दिदै नविनतम ज्ञानलाई सिक्दै आफूलाई निरन्तर अद्यवधिक गर्न तालिम सहयोगी हुने साथै सेवा प्रवाहमा समेत तालिमले सकरात्मक योगदान गर्न सक्ने उहाको धारणा रहेको थियो । त्रिवि समन्वय महाशखालाई कर्मचारीको मात्रै नभई शिक्षकहरुको समेत तालिमको प्रायोजन गर्न अनुरोध गर्दै उहाँले तालिमले कर्मचारी मार्फत समग्र संस्थाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पसका क्याम्पस प्रमुख डा. दिल बहादुर लिम्वुले कर्मचारीलाई विषय विज्ञहरुबाट धेरै विषयका वारेमा जानकार भई कार्यक्षमताको अभिवृद्धी गर्न अनुरोध गर्नुभएको थियो । महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख दामोदर भण्डारीले तालिममा करारका कर्मचारीहरुलाई समेत समेटन समन्वय महाशाखालाई अनुरोध गर्नुभएको थियो । उहाँले कोभिड १९ पछि त्रिभुवन विश्वविद्यालयको समग्र प्रशासनिक शैली र विधिमा प्रविधिको प्रयोगलाई जोड दिइरहेकोले कर्मचारीहरुमा सूचना प्रविधिको ज्ञान अभिवृद्धि गर्न समेत अनुरोध गर्नुभएको थियो । विश्वविद्यालयले अनिवार्य विद्युति हाजिरी, केन्द्रीकृत वेवसाइट विकास र एकिकृत कार्यालय व्यवस्थापन प्रणाली अवलम्वन गरिसकेको भन्दै सहभागी सबै कर्मचारीहरुलाई उत्साहित भएर तालिममा सहभागी हुन अनुरोध गर्नुभएको थियो । करारका कर्मचारीहरुले विश्वविद्यालय धान्नुपर्ने अवस्था भएकोले सवै प्रकार कर्मचारीहरुमा उत्साह सिर्जना गर्न केन्द्रीय प्रशासनले कार्यक्रमहरु निर्माण गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।
तालिमको उद्घाटन कार्यक्रममा समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले समन्वय महाशखाले सवै प्रकारका कर्मचारीहरुलाई तालिमका सहभागी गराउन तालिमको पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । उहाँले कर्मचारीहरुलाई थप क्रियाशिल बनाउने, भएका कर्मचारीहरुलाई प्रविधिसँग आवद्ध गरी अधिकतम सेवा लिने, कर्मचारीको मनोवल उच्च राखी नियमित रुपमा उहाँहरुलाई अद्यवधिक गर्ने दृष्टिकोणकै कारण आफुहरु प्रयत्नशिल रहेको बताउनुभयो । कर्मचारीहरुलाई श्रोत व्यक्तिहरु निरन्तर अन्तरक्रिया गर्न अनुरोध गर्दै सञ्चार र प्रविधिलाई माध्यमको रुपमा लिएर कर्मचारीहरुले आफूलाई निरन्तर विस्तारीत गर्दै अघि वढनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरानका सहायक क्याम्पस प्रमुख एवम् तालिम सह संयोजक वविता अधिकारी, नेपाल प्राध्यापक संघ, केन्द्रीय समितिका उपाध्यक्ष सन्जु पराजुली, त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका उपाध्यक्ष पुष्कर खनाल, केन्द्रीय प्रविधि क्याम्पस स्ववियु सभापति अभिनभ गुरागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।