विश्वविद्यालय क्याम्पस कीर्तिपुर बन्दैछ प्राज्ञिक उत्कृष्टताको केन्द्र 

विश्वविद्यालय क्याम्पस कीर्तिपुर बन्दैछ प्राज्ञिक उत्कृष्टताको केन्द्र 

2023-05-08


त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पस कीर्तिपुर परिसरलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउने रणनीति अनुरुप अध्ययन कार्य शुरु गरेको छ । नेपाल सरकारको आर्थिक  सहयोगमा निर्माण गर्न लागिएको शैक्षिक उत्कृष्टताको केन्द्र निर्माणका लागी प्रारम्भिक अध्ययन गरी रिर्पोट प्रस्तुत गर्न गठिन प्राज्ञिक उत्कृष्टताको केन्द्र निर्माण समितिले विश्वविद्यालय परिसरमा रहेका सम्पूर्ण पदाधिकारीहरु, डीनहरु,केन्द्रीय विभागका प्रमुखहरु र महाशाखाप्रमुखहरुको उपस्थितिमा प्राज्ञिक उत्कृष्टताको केन्द्र निर्माणका आर्थिक,प्रशासनिक, भौतिक एवम् प्राविधिक पक्षहरुको वारेमा अन्तरक्रिया गरेको छ । 
ललितपुर स्थिति सिद्धार्थ कटेजमा २०८० वैशाख २५ मा  आयोजित कार्यक्रममा विश्वविद्यालय क्याम्पसलाई कसरी उत्कृष्ट बनाउने,भौतिक पूर्वाधार निर्माण र उत्कृष्ट शैक्षिक बातावरण निर्माण गर्न के कस्तो प्रावधान निर्माण गर्ने र प्राज्ञिक उत्कृष्टता निर्माणमा के कस्तो प्रारम्भिक चुनौतीहरु  हुन सक्छन गहन छलफल र विश्लेषण गरिएको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्याल र योजना निर्देशनालयका निर्देशक प्रा.डा ध्रुव कुमार गौतमले  प्राज्ञिक उत्कृष्टताको केन्द्र निर्माण सन्र्दभमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा प्राज्ञिक उत्कृष्टता निर्माणका लागी विश्वविद्यालय परिसरलाई सुन्दर र आकर्षक बनाउने, प्रविधिमैत्री शैक्षिक क्रियाकलाप अघि बढाउने, शैक्षिक स्वायत्त स्कुलको निर्माण, प्राविधिक शिक्षा तथा प्रयोगशालामा जोड, अनुसन्धान तथा विश्वस्तरीय प्रकाशन, भौतिक संरचना निर्माण, आर्युवेद शिक्षक अस्पताल व्यवस्थापन र त्रिवि केन्द्रीय पुस्तकालयको प्राविधिकरण लगायतका विषयहरु समोवश गरिएका छन् । 
छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले सरकार र विश्वविद्यालयको संयुक्त पहलमा त्रिवि र्कीतपुर परिसरलाई अन्तराष्ट्रियस्तरको बनाउन लागिपरिरहको बताउनुभयो । विश्वविद्यालयहरुनै देशका मुख्य चिनारी हुने हुँदा त्रिवि कीतिर्पुर परिसरलाई सौन्दयकरण गरी व्यवस्थित बनाउन खोजिएको र समग्रमा त्रिविलाई संघीय संरचनामा लैजान शिक्षामन्त्रालयकै पहलमा कामहरु अघि वढिरहेको बताउनुभयो । आफुहरु सरकार र सम्वन्धित मन्त्रालयसँग निरन्तर छलफलमा रहेको र छिट्टै मुख्यमन्त्रीहरु र मुख्य पार्टीका प्रदेश हेर्ने प्रमुखहरुसँग बसेर पुनःसरंचनाका वारेमा छलफल गरी निर्णय लिने जानकारी गराउनुभएको थियो ।  त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले विश्वविद्यालयमा विभिन्न शैक्षिक प्रशासनि एवम् आर्थिक चुनौती अद्यवधिक रहेको भएतापनि आफूहरु विश्विद्यालयको स्तरोन्नतीका लागी निरन्तर प्रयत्नशिल रहेको बताउनुभयो । विद्यार्थीहरुमा त्रिभुुवन विश्वविद्यालय प्रतिको धारणा अत्यन्तै सकरात्मक रहेको र देशकै महत्वपूर्ण शैक्षिक संस्था भएको हुनाले विश्वविद्यालयका सवै सरोकारवाला प्राध्यापक,कर्मचारी,विद्यार्थी र अभिभावक मिलेर विश्वविद्यालयलाई व्यवस्थित बनाउन लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । विश्वविद्यालयमै कार्यरत शिक्षक कर्मचारी ले आफ्नो विश्वविद्यालयको विपक्षमा धारणा बनाउन नहुने भन्दै उहाँले देशको समग्र विकासका लागी त्रिभुवन विश्वविद्यालय महत्वपूर्ण योगदान गरिरहेको यथार्थता सरकारले विर्सन नहुने बताउनुभयो । हाल त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापनको निकै चुनौतीपूर्ण चरणमा रहेको, सरकारवाट प्राप्त हुनुपर्ने नियमित अनुदानमा व्यापक कटौती भएको, बढेको तलव भत्ता प्राप्त हुन नसेको र शिक्षक÷कर्मचारीहरुको पदपुर्ती गर्न नसक्दा मानवस्रोत व्यवस्थापनमा थप चाप सिर्जना भएको बताउनुभयो । विश्वविद्यालय थप व्यवस्थित हुनै पर्छ र चुनौती सामना गर्दै अघि वढनुको अर्को विकल्प नरहेको भन्दै त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा अघि वढाउने सपना साकार पार्न सवै सरोकारपक्षहरुले सकरात्मक दृष्टिकोणको साथ सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सभापति श्यामराज ओझाले विश्वविद्यालयलाई व्यवस्थित र वास्तविक विश्वविद्यालयजस्तो बनाउन अघि सारिएको योजना र विषयवस्तुु अत्यन्तै सकरात्मक रहेको र यसलाई कागजमा मात्रै सिमित गर्नु नहुने बताउनुभयो । विद्यार्थीहरुले कीर्तिपुर परिसरमा नियमित स्वच्छ पानी, सुविधायुक्त शौचालय जस्ता प्राथमिक सुविधाहरु समेत प्राप्त गर्न नसकेको गुनासो गर्नुहुँदै विश्वविद्यालय परिसरलाई देखिने गरी व्यवस्थित गर्न पदाधिकारीहरुलाई  अनुरोध गर्दै रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । छलफलमा सवै विभागीय प्रमुखहरुले प्रशासनिक, पूर्वाधार, प्राविधिक विषयवस्तुहरुमा सुधार गर्न सुझाव दिनुभएको थियो । छलफलमा प्राप्त सुझावहरुलाई समेटेर  रिर्पोट तयार पारी शिघ्र कार्यान्वयनमा लैजाने प्राज्ञिक विशिष्टता निर्माण समितिका संयोजक प्रा.डा विनिल अर्यालले जानकारी गराउनुभएको थियो ।