स्कूल अफ मेनेजमेन्टद्धारा नेटवर्किङ कार्यक्रम 

स्कूल अफ मेनेजमेन्टद्धारा नेटवर्किङ कार्यक्रम 

2024-06-13

स्कूल अफ मेनेजमेन्टद्धारा नेटवर्किङ कार्यक्रम 
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय,स्कूल अफ मेनेजमेन्टको आयोजना र  दक्षिण कोरियाको हानदोङ ग्लोवल युनिभर्सिटीको सहकार्यमा नवप्रवर्तनलाई बढावा दिई दिगो भविष्य निर्माण गर्ने उद्देश्यले नेटवर्किङ कार्यक्रम अयोजना गरेको छ । 
ललिपुर स्थित हेरिटेज गार्डेनमा २०८१।०२।३२ गते आयोजित कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत थियोङ पार्कले हानदोङ ग्लोवल युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालय बिचको सहकार्यले दुवै देशको सामाजिक, आर्थिक विकासको लागि थप सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । नेपाल र दक्षिण कोरिया विच आपसी मित्रता र विश्वासको सम्वन्ध रहेको र  नेपाल दक्षिण कोरियाको प्राथमिकता रहेको मुलुक भएकोले  नेपालका समग्र  विकासलाई दक्षिण कोरियाले सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपालको उज्वल भविष्य र विकासका लागि दक्षिण कोरीया सवै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुु थियो । 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि दक्षिण कोरियाका विश्वविद्यालयहरुसँग शैक्षिक सहकार्य आदान÷प्रदान गर्दै आइरहेको र आगामी दिनमा हानदोङ ग्लोवल युनिभर्सिटीसँग थप शैक्षिक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयले विश्वका प्रभावशाली विश्वविद्यालयहरुसँगको सहकार्यलाई थप प्रभावकारी बनाउदै अन्तराष्ट्रिय क्षेत्रमा आफनो उपस्थिति बलियो बनाउने उद्देश्य लिएको बताउनुभयो । दक्षिण कोरीयाका उत्कृष्ट शैक्षिक संस्थाहरुसँग शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न आफनो योजना रहेको समेत स्पष्ट पार्नु भयो ।  
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले दक्षिण कोरियाको सामाजिक आर्थिक र शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको हानदोङ ग्लोवल युनिभर्सिटीसँगको सहकार्यले यस स्कुल अफ मेनेज्मेन्ट मार्फत सामाजिक आर्थिक रुपान्तरणका विविध पक्षहरुका वारेमा अनुभव साटासाट हुने अपेक्षा गर्नुभएको थियो ।  । उच्चशिक्षा र आर्थिक विकासको पारस्परिक सम्बन्ध हुने भएकोले दुवै प्रतिष्ठित विश्वविद्यालयविचको सहकार्यले अनुसन्धानको क्षेत्रमा थप महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने, दुवै देशका विज्ञहरु मार्फत पाठ्यक्रमहरुलाई समय सान्दर्भिक, बजारमैत्री,व्यवसायमैत्री र प्रविधिमैत्री बन्न थप योगदान रहने  अपेक्षा गर्नुभएको थियो । 

कार्यक्रममा दक्षिण कोरियाको हानदोङ ग्लोबल युनिभर्सिटीका अध्यक्ष डा. चोइ दोसोङले हानदोङ र त्रिभुवन विश्वविद्यालय स्कुल अफ मेनेज्मेन्ट विच सहकार्य भई शैक्षिक क्रियाकलापहरु हुदै आइरहेको, दुवै देशका विज्ञहरुको  सक्रियतामा उच्चशिक्षा मार्फत सामाजिक परिवर्तन,र विकास गर्न सफल भएको, विद्यार्थीहरुलाई नवप्रर्वतनात्मक बनाउन र विश्वका व्यापारिक क्षेत्रमा काम गर्न अब्वल बनाउने अपेक्षा व्यक्त गर्नुभएको थियो  । दुवै देशका प्राध्यापकहरुको शैक्षिक सहकार्यलाई उपलब्धीमुलक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको, उहाँको अनुसन्धानात्मक क्षमताले दुवैदेशका लागि आवश्यक व्यवस्थापन विज्ञहरु निर्माण गर्न सफल भएको बताउनु भएको थियो  । हानदोङ ग्लोवल युनिभर्सिटी र त्रिविसँग मिलेर सहकार्य गरी  नेपालको दिगो विकासका लागि थप काम गर्न चाहिरहेको साथै  स्थानिय  निकायहरु मार्फत जनताको जिवनस्तर सुधार्न  सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गर्नुभएको थियो । 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लले मित्रराष्ट दक्षिण कोरिया र नेपालको चिरस्थायी सम्वन्धको स्मरण गर्दै, वातावरण संरक्षण,द्धिदेशिय व्यापार, दिगो आर्थिक विकास र सामाजिक विकासका लागि दक्षिण कोरियाले गरिरहेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । प्रविधि,पर्यावरण,नविकरण ऊर्जा लगायतको क्षेत्रमा दक्षिण कोरियाले गरेको विकास विश्वकै लागि अनुुकरणीय बनेको धारणा व्यक्त गर्नुभएको थियो । नेपालमा कृषिको परनिर्भरता यद्यपी कायमै रहँदै रहेको साथै उत्पादन क्षेत्रमा नवप्रवर्तनात्मक सोचाई, अनुसन्धान र सामाजिक सहभागिता आवश्यक रहको बताउनुुभयो । शिक्षा र स्वास्थ्यमा विपन्न र सिमान्तकृत समुदायहरुको सहभागीता बढाउनुपर्ने चुनौतीलाई सामना गरी अघि वढन दुवै देशका प्राज्ञिकहरुले गहन बहस गरी तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 
व्यवस्थापन संकायका डीन प्रा.डा डिल्लीराज शर्माले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको अवसर उपलब्ध गराउन हानदोङ ग्लोवल युनिभर्सिटीसँगको सहकार्यले सार्थकता पाएको बताउनुभयो । विद्यार्थीहरुमा उद्यमशिलताको विकास गर्न, व्यवसाय  सम्वन्धी दृष्टिकोणको विकास गर्न र समग्र व्यवस्थापन क्षेत्रको प्राज्ञिक उन्नयनका लागि अन्तराष्ट्रिय सहकार्यले अर्थराख्ने बताउनुभयो । स्कुल अफ मेनेज्मेन्ट मार्फत आफ्ना विद्यार्थीहरुको रचनात्मक क्षमताको विकास गरिरहेको बताउनुभएको थियो । नेटवर्किङ कार्यक्रममा विभिन्न व्यवसायहरुले आफ्ना उत्पादित सामाग्री प्रदशर्नी एवम् विक्रीका लागि राखेका थिए । कार्यक्रममा कोरिया,नेपाल,वंगलादेश,भारत लगायत देशका सहभागीहरु उपस्थिति भएका थिए ।