त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको आयोजना र इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सह अयोजनामा सुदुरपश्चि,कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशभित्रका विभिन्न क्याम्पस र कार्यालयहरुमा स्थायी सेवामा कार्यरत मुख्य कार्यालय सहायक र कार्यालय सहायक कर्मचारीहरुको लागी ८ दिन तालिम आयोजना गरिएको छ ।
पश्चिमाञ्चल क्याम्पस पोखरामा आयोजित तालिमको उद्घाटन निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले गर्नुभएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहँुदै निमित्त उपकुलपति एवम् शिक्षाध्यक्ष प्रा.डा भुसालले त्रिभुवन विश्वविद्यालयले आफ्ना परम्परागत प्राथमिकताहरुलाई परिवर्तन गरेको,प्रविधिमा जोडी दिइएको, सवै शिक्षक तथा कर्मचारीहरुलाई नियमितरुपमा तालिम उपलब्ध गराउन लागेको, प्रविधिमैत्री प्रशासनमा जोड दिइएको, बजारको मागहरुलाई सम्वोधन गर्ने नयाँ शैक्षिक कार्यक्रहरु सञ्चालन गर्न लागिएको, समग्र पाठ्यक्रम परिवर्तन गर्न थालिएको र अनुसन्धानमुखी विश्वविद्याय बनाउन लागिएकोले सम्पूर्ण शैक्षिक,प्राविधिक एवम प्रशासनिक व्यवस्थापनमा कर्मचारीहरुको अत्यन्तै महत्वपूर्ण भुमिका हुने हुदा तालिम मार्फत कर्मचारीहरुलाई पुर्नताजकी गरी थप क्षमतवान र गतिशिल बनाउने अभिप्राय रहेको बताउनुभयो । विश्वविद्यालयलाई पेपरलेस बनाउन तहगत र क्षेत्रगत रुपमा तालिम सञ्चालन गरिएको कारण कर्मचारीलाई प्रविधिको प्रयोगमा विशेष ध्यान दिई आफुलाई अभ्यस्त बनाउन अनुरोध गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयको गुणस्तरमा प्रश्न उठाउने गरिएको भन्दै उहाँले भन्नुुभयो “त्रिविको शिक्षा गुणस्तरीय नभएर मात्रै उच्चशिक्षा अध्ययन गर्न विद्यार्थी विदेश होइन,विदेश जानुका अनेक कारणहरु छन जिम्मेवारी सरकार हो हामी होइनौ” तालिमले कर्मचारीहरुको व्यक्तित्व विकाससँग विश्वविद्यालयको व्यक्तित्व समेत विकास गर्नसक्नुपर्ने, सवै कर्मचारीहरु नयाँकुराहरु सिक्न र त्यसको कार्यान्वयन गर्न तयार रहनुपर्ने र प्रतिस्पर्धी क्षमताको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।
इन्जियिनरिङ्ग अध्ययन संस्थान,पश्चिमाञ्चल क्याम्पस पोखराका क्याम्पस प्रमुख निर्मल प्रसाद बरालले तालिमले कर्मचारीको आन्तरिक क्षमताको प्रस्फुटन गर्ने र नयाँ विषयवस्तुहरुका वारेमा पर्याप्त जानकारी लिने अवसर मिलाएकोले शान्तिपूर्णंरुपमा सवैकुरा सिकेर कार्यालयमा कार्यान्वयन गर्न सक्नुहोस र आफु ज्ञान,सिप र कुशलताको अभिवृद्धि गर्ने अवसरको रुपमा लिन कर्मचारीहरुलाई अनुरोध गर्नुभएको थियो ।
समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले कर्मचारीहरुको मुख्य काम सेवा प्रवाह रहेकोले सेवा प्रभावमा नविनता ल्याउन तालिम आवश्यक रहेको बताउनुभयो । संस्थागत विकासलाई जोड दिदै सेवा प्रवाहलाई छिटो,छरितो र प्रभावकारी बनाउन तालिमले थप सहयोग पुग्नुका साथै परम्परागत प्रशासनिक शैलीवाट मुक्त भई आधुनिक प्रशासनिक क्षमता अभिवृद्धि गर्न समेत तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्र बहादुर कार्कीले मुख्यकार्यालय सहायक र कार्यालय सहायकलाई प्रदान गरिने तालिमले व्यक्तित्व व्यक्तित्व विकासको अवसर सिर्जना गर्ने र कर्मचारीहरुलाई कार्यक्षेत्रमा उत्प्रेरणा जगाउन सक्नुपर्ने बताउनुभयो । समन्वय महाशाखाले आफ्नो भूमिका राम्ररी निर्वाह गरी तालिम सञ्चालनलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कर्मचारीहरु अधिकारको माग गर्नेमा मात्र नभई कर्तव्य निर्वाहमा एकवद्ध हुनुपर्ने बताउदै उहाँले त्रिविमा कार्यरत कर्मचारीहरु वृत्तिविकास र पदोन्नतीमा धेरै प्रकारका समस्या रहेको भन्दै पदाधिकारीहरुलाई विशेष विज्ञापन मार्फत सिमित प्रतिस्पर्धा गराई समस्या समाधान गरिदिनुहुन समेत आग्रह गर्नुभएको थियो । सवै कर्मचारीहरु विश्वविद्यालयको गरिमा र पहिचान बचाउन लाग्नुपर्ने र विश्वविद्यालयलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन कर्मचारीहरुपनि जिम्मेवारी भई कार्यक्षेत्रमा खट्नुपर्ने धारणा राख्नुभएको थियो । तालिममा सहभागी हुन पोखरा आउनुभएको सम्पूर्ण सहभागीहरुलाई स्वागत त्रिवि कर्मचारी संघ पश्चिमाञ्चल क्याम्पस एकाई समितिका सभापती दिल बहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पश्चिमाञ्चल क्याम्पस पोखराका प्रशासन प्रमुख खेम बहादुर पुलामीले गर्नुभएको थियो ।